काठमाडौं– नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवस औपचारिक उत्सवका रूपमा सीमित नभई विभेद अन्त्यको सामूहिक प्रतिबद्धताको दिन बन्नुपर्ने बताएका छन् ।
जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवस-२०८३ का अवसरमा शुभकामना सन्देश जारी गर्दै आङ्देम्बेले समाजमा विद्यमान जातीय विभेद र छुवाछूतका घटनाले कानुनी तथा संवैधानिक व्यवस्थामात्र पर्याप्त नरहेको सन्देश दिएको उल्लेख गरेका छन् ।
उनले नेपाललाई वि.सं. २०६३ साल जेठ २१ गते ‘जातीय छुवाछूत मुक्त राष्ट्र’ घोषणा गरिएको र त्यसलाई थप संस्थागत गर्न वि.सं. २०६८ साल जेठ १० गते ‘जातीय भेदभाव तथा छुवाछूत (कसुर र सजाय) ऐन, २०६८’ जारी गरिएको स्मरण गराएका छन् । यी ऐतिहासिक कदमले समानता, मानव अधिकार र सामाजिक न्यायप्रतिको राज्यको प्रतिबद्धता स्पष्ट गरेको उनको भनाइ छ ।
आङ्देम्बेले संविधानले सबै नागरिकलाई समान अधिकार सुनिश्चित गरेको भए पनि समाजका विभिन्न तहमा जातीय भेदभाव तथा छुवाछूतका घटना अझै देखिनु दुःखद रहेको बताएका छन् । यस्ता अमानवीय व्यवहारले मानव मर्यादा, सामाजिक सद्भाव र लोकतान्त्रिक मूल्य मान्यतामाथि आघात पुर्याउने उनको भनाइ छ ।
विभेदको अन्त्य कानुन बनाएर वा दण्ड सजायको व्यवस्था गरेर मात्र सम्भव नहुने उल्लेख गर्दै उनले समाजमा समानता, सम्मान, सहिष्णुता र मानवीय व्यवहारको संस्कृतिको विकास आवश्यक रहेको बताएका छन् । उनले जातीय भेदभावविरुद्ध दृढतापूर्वक उभिँदै सामाजिक न्याय र समान अवसर सुनिश्चित गर्न सबै राजनीतिक दल, राज्यका निकाय, नागरिक समाज, सञ्चारमाध्यम तथा नागरिक एकजुट हुनुपर्नेमा जोड दिएका छन् ।
शुभकामना सन्देशको अन्त्यमा आङ्देम्बेले विविधताबीचको एकतालाई थप सुदृढ गर्दै विभेदरहित, समावेशी र समतामूलक नेपाल निर्माणको अभियानमा सबै पक्ष प्रतिबद्ध हुनुपर्ने उल्लेख गरेका छन् । उनले जातीय भेदभावविरुद्धको दिवसलाई केवल उत्सवका रूपमा नभई समानता र सामाजिक न्यायप्रतिको सामूहिक प्रतिबद्धताको अवसरका रूपमा स्थापित गर्नुपर्ने बताएका छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।