काठमाडौँ– अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण देशभरका मुख्य राजमार्गहरू नराम्ररी प्रभावित भएका छन् ।
प्रहरी प्रधान कार्यालयले जारी गरेको २०८३ जेठ १५ गते बिहान ८ बजेसम्मको अद्यावधिक विवरणअनुसार कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका विभिन्न सडक खण्डहरूमा यातायात आवागमन अवरुद्ध भएको छ । कतिपय स्थानमा सडक पूर्ण रूपमा बन्द छन् भने केही स्थानमा जोखिमलाई मध्यनजर गर्दै सवारी आवागमनमा रोक लगाइएको छ ।
राजमार्ग अवरोधबाट सबैभन्दा बढी कोशी प्रदेश प्रभावित देखिएको छ । विशेषगरी पहाडी जिल्लाहरू जोड्ने मध्यपहाडी लोकमार्गका विभिन्न खण्ड पूर्ण रूपमा बन्द भएका छन् ।
जेठ ८ गते गएको पहिरो र बाढीका कारण पाँचथर जिल्लाको याङ्वरक गाउँपालिकाअन्तर्गत वडा नम्बर ३ को ओयाम बजार र रिजालभिर तथा वडा नम्बर २ को दोभानमा मध्यपहाडी लोकमार्ग पूर्ण रूपमा अवरुद्ध छ । यसै प्रदेशको सङ्खुवासभास्थित मकालु गाउँपालिका–३ नयाँ बस्तिमा गएको पहिरोले कोशी राजमार्ग एकतर्फी मात्र सुचारु छ । त्यस्तै, भोजपुर नगरपालिका–५ बोखिममा बाढीका कारण मध्यपहाडी लोकमार्गको उक्त खण्ड वैकल्पिक बाटोसहित एकतर्फी रूपमा मात्र सञ्चालनमा आएको छ ।
यता, बागमती र गण्डकी प्रदेशमा पनि सडक यातायात प्रभावित बनेको छ । बागमती प्रदेशको काभ्रेपलाञ्चोक जिल्लामा सम्भावित बाढीको जोखिमलाई मध्यनजर गर्दै बीपी राजमार्गअन्तर्गत खुर्कोट–नेपालथोक–कटुन्जेबेंसी चल्ने सम्पूर्ण सवारी साधनहरू सञ्चालनमा रोक लगाइएको छ।
गण्डकी प्रदेशको म्याग्दी जिल्लाअन्तर्गत बेनी–जोमसोम सडकखण्डका विभिन्न स्थानमा पहिरो खस्दा यातायात एकतर्फी मात्र चलेको छ । अन्नपूर्ण गाउँपालिका–३ जलथले, रघुगङ्गा गाउँपालिका–१ उपल्लो बैसरी र वडा नम्बर ३ तल्लो बैसरीमा विभिन्न मितिमा गएको पहिरोका कारण सडक पूर्ण रूपमा खुल्न सकेको छैन ।
कर्णाली प्रदेशको हुम्लामा पनि सम्भावित पहिरोको जोखिमका कारण यातायात सञ्चालनमा रोक लगाइएको छ । वैशाख २९ गतेदेखिको जोखिम मूल्याङ्कन गर्दै नाम्खा गाउँपालिका वडा नम्बर २ स्थित हिल्सा–सिमकोट सडकखण्डमा सवारी साधन चल्न दिइएको छैन ।
लगातारको वर्षा र भौगर्भिक जोखिमका कारण सडक खुल्ने र बन्द हुने क्रम जारी रहेकाले यात्रुहरूलाई आफ्नो गन्तव्य तय गर्नुअघि सडकको अवस्था बुझ्न आग्रह गरिएको छ । बाटो अवरोधसम्बन्धी अद्यावधिक सूचना नेपाल प्रहरीको आधिकारिक वेबसाइटमा गएर हेर्न सकिने प्रहरीले जनाएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।