विराटनगर – नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र देखिएका आन्तरिक मतभेद र असन्तुष्टिलाई व्यवस्थापन गर्दै सबै नेताहरूलाई एकजुट भएर अगाडि बढ्न आह्वान गरेका छन् ।
शनिबार विराटनगरस्थित कोइराला निवासमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै थापाले यस्तो बताएका हुन् ।
सभापति थापाले पार्टीभित्रका आन्तरिक विमतिहरूलाई स्वाभाविक रूपमा लिँदै त्यसलाई मिलाएर लैजानु नै आफ्नो प्रमुख कर्तव्य भएको बताए । विशेषगरी पार्टीका केही वरिष्ठ र प्रभावशाली नेताहरू जो अहिले केन्द्रीय समितिभन्दा बाहिर छन्,उनीहरूलाई मूलधारमा ल्याउने वातावरण बनाउन आफू तयार रहेको उनले स्पष्ट पारे ।
‘नेपाली कांग्रेस पार्टीभित्र देखिएका विमतिहरूलाई सम्बोधन गर्ने सभापतिका रूपमा मेरो आफ्नो जिम्मेवारी हो । यो जिम्मेवारी मैले निर्वाह गर्नुपर्छ र गरिरहेको पनि छु । पार्टीको विधानले पनि त्यही भन्छ र हाम्रो परम्पराले पनि त्यही सिकाउँछ,’ उनले भने, ‘अहिले पार्टीका केही साथीहरू, नेताहरू केन्द्रीय समितिभन्दा बाहिर हुनुहुन्छ । म उहाँहरू सबैलाई केन्द्रीय समितिभित्र आएर काम गर्नका निम्ति विशेष अनुरोध गरिरहेको छु । आउने साथीहरूका लागि वातावरण हामी बनाइरहेका छौँ । अब केही गरी ‘तिम्रो अनुहारै मन पर्दैन भने त बेग्लै कुरा हो, नत्र पार्टीभित्र मिलेर काम गर्ने पर्याप्त ठाउँ छ र म त्यसका लागि खुला छु ।’
महामन्त्री गगन थापाले कोइराला निवासको ऐतिहासिक गरिमालाई स्मरण गर्दै आफू सभापति भएपछि पहिलो पटक यहाँ आउन पाउँदा गौरव लागेको बताए । उनले पार्टीलाई विधानसम्मत ढङ्गले अगाडि बढाउन र सरकारलाई जिम्मेवार बनाउने आफ्नो कर्तव्यबाट कांग्रेस पछि नहट्ने बताए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।