काठमाडौं– सभामुख डीपी अर्यालले मुलुकको आवश्यकता र भविष्यका चुनौतीलाई सम्बोधन गर्ने गरी कानुन निर्माण गर्नुपर्ने बताएका छन् ।
पूर्वसांसद मञ्चद्वारा आयोजित कार्यक्रममा बोल्दै उनले पुराना कानुन संशोधन वा आवश्यक नभए खारेज गर्दै नयाँ कानुन निर्माण गर्नुपर्ने बताए ।
उनले भने, ‘देश निर्माणका लागि पुरानो पुस्ताको अनुभव, वर्तमान पुस्ताको काम गर्ने ऊर्जा र नयाँ पुस्ताको प्रतिभा तथा सोचलाई एकसाथ अघि बढाउन सके मात्र देश नागरिकले चाहेजस्तो बन्छ ।
हामी कानुन बनाइदिन्छौँ र जनतालाई लागू गर्न बाध्य बनाउँछौँ, तर व्यावहारिक रूपमा हाम्रो भूगोल, चेतनास्तर र शिक्षा प्रणालीले त्यसलाई स्वीकार्न सकेको छैन ।’
उनले कानुन निर्माणमा अनुभवी पुस्ताको सिकाइ, वर्तमान अभ्यास र नयाँ पुस्ताको अपेक्षालाई समेटेर देश सुहाउँदो कानुन बनाउन आवश्यक रहेको बताए ।
न्यायपालिका, कार्यपालिका र व्यवस्थापिकाबीचको समन्वय र गति मिल्न नसके देशले अपेक्षित विकास गर्न नसक्ने बताए ।
उनले भने, ‘यी तीन वटाको स्पिरिट र स्पिड मिलेन भने नागरिकले सुख पाउँदैनन्, जनजीविकाको विषयमा काम हुँदैन । स्रोत–साधनभन्दा पहिले नियत महत्त्वपूर्ण हुन्छ। नियत सफा भए आवश्यक स्रोत र नीतिनियम निर्माण स्वतः सम्भव हुन्छ ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।