काठमाडौं– नेकपा (एमाले)ले आफ्नो पार्टीको केन्द्रीय कार्यालय व्यवसायी मीनबहादुर गुरुङले दिएको जग्गामा नबनाउने भएको छ ।
गत सोमबार एमालेको सचिवालय बैठकमा महासचिव शंकर पोखरेलले प्रस्तुत गरेको प्रस्तावमा व्यवसायी गुरुङले दान दिएको जग्गामा नभई बल्खुस्थित एमालेको नाममा रहेको जग्गामै पार्टी कार्यालय भवन बन्ने प्रस्ताव गरेका छन् । पाेखरेलले अघिल्लाे दिन बल्खु पुगेर एमालेकाे पार्टी कार्यालय बल्खुमै बन्छ भनेका थिए ।
उक्त प्रस्तावमा जग्गा दान गर्ने गुरुङ परिवारलाई धन्यवाद दिने प्रस्तावसमेत राखिएको छ । चर्चित सपिङ मल भाटभटेनीका सञ्चालकसमेत रहेका गुरुङले १० असोज २०८१ मा १० रोपनी जग्गा दिने र त्यसमा भवनसमेत बनाइदिने घोषणा गरेका थिए ।
त्यो बेला प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओली र गुरुङ दम्पतीले भवनको शिलान्याससमेत गरेका थिए । उक्त प्रकरणले एमालेभित्र तीव्र विवाद निम्त्याएको थियो । व्यापारीले दान गरेको जग्गामा पार्टी कार्यालय बनाउनु हुँदैन भन्ने आवाज उठेपछि केही नेताहरूलाई कारबाहीसमेत गरिएको थियो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।