काठमाडौँ– नक्कली मदिरा बनाउने कारखानामा सशस्त्र प्रहरीले छापा हानेर चारजना पक्राउ गरेको छ ।
महालक्ष्मी नगरपालिका–७ स्थित चाँगाथलीमा नक्कली ब्राण्डेड मदिरा बनाउने ठाउँमा सशस्त्र प्रहरीले छापा मारेको छ ।
त्यहाँबाट ठूलो मात्रामा रेडलेवल, ब्ल्याक लेवललगायत महँगा ब्राण्डेड रक्सीसमेत बरामद भएको बताइएको छ ।
सशस्त्रको इन्टेलिजेन्स ब्युरोको सूचनाका आधारमा विर्खबहादुर तामाङको घरमा अवैध रूपले नक्कली ब्राण्डेड मदिरा तयार गरिरहेका चार जनालाई नियन्त्रणमा लिइएको हो ।
रामेछाप जिल्लाको खाँडादेवी गाउँपालिका-२ बस्ने ३० वर्षीय मनोज खत्री, सोही जिल्लाको खिम्ति गाउँपालिका बस्ने २८ वर्षीय विनोद तामाङ, २६ वर्षीय विवेक तामाङ र सिन्धुपाल्चोक, बाह्रबिसे नगरपालिका–६ बस्ने २२ वर्षीय छिदेन निमा तामाङ रहेका छन् ।
सशस्त्रले सोही ठाउँबाट रक्सी बनाउन प्रयोग हुने केमिकल तथा उपकरण, राजश्वको स्टिकरसमेत बरामद गरेको छ । बरामद रक्सी ठूलो परिमाणमा रहेकोले यकिन गर्न नसकिएको सशस्त्रले जनाएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।