काठमाडौँ – प्रधानमन्त्री बालेन्द्र शाहले शिक्षालय र कर्मचारीतन्त्रलाई दलगत राजनीतिबाट पूर्ण रूपमा मुक्त गर्ने घोषणा गरेका
छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले वर्षौंदेखि जरा गाडेर बसेको विद्यार्थी र कर्मचारीतन्त्रको पार्टीकरणले देशको प्रणालीलाई नै ध्वस्त पारेको उल्लेख गरेका छन्।
धेरै पत्रकार, नेता र आम जनताले भन्दै आएको गुनासोलाई सम्बोधन गर्दै सरकारले अध्यादेशमार्फत यी विकृतिहरू हटाउने निर्णय लिएको उनले स्पष्ट पारेका छन्। प्रधानमन्त्री शाहका अनुसार अब शिक्षालयमा दलको झण्डा र कर्मचारीतन्त्रमा दलको झोला बोक्ने कार्य पूर्णतः निषेध गरिएको छ।
‘हाम्रो प्रयास यति मात्र हो, विद्यार्थीले राजनीति सिक्दा गुरुबाट सिकून्, नेताको भिडबाट होइन । कर्मचारीले विधि खोजून्, नेताको छहारी होइन’, प्रधानमन्त्री शाहले सामाजिक सञ्जालमा लेखेका छन्, ‘हामी चाहन्छौँ विद्यार्थीले राजनीति सिकून् तर सभ्यता, विचार र जिम्मेवारीको राजनीति, कर्मचारीले जनताको सेवा सिकून्, कुनै दलको होइन ।’
यो प्रणाली बचाउने, भविष्य बचाउने, देशलाई दलगत कब्जाबाट निकालेर संस्थागत मार्गमा ल्याउने, शिक्षालय र कर्मचारीतन्त्रलाई दलगत संक्रमणबाट मुक्त गर्ने प्रयास भएको उनको भनाइ छ । ‘त्यसैले तपाइहरूकै चाहनाअनुरूप अध्यादेशमार्फत यी विकृतिहरू हटाएका छौँ’, उनले लेखेका छन् ।
यस अभियानमा सबैको साथ र सहयोग चाहिएको उनको भनाइ छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।