काठमाडौँ– नेपाली काँग्रेसका महामन्त्री गगन थापाले पार्टीभित्र सहमति र एकताको वातावरण निर्माण गर्दै आगामी १५ औँ महाधिवेशनतर्फ अघि बढ्ने प्रयास भइरहेको बताएका छन्।
विराटनगरमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले विभिन्न धारका नेताहरूसँग निरन्तर संवाद भइरहेको जानकारी दिएका हुन्।
उनका अनुसार वर्तमान राजनीतिक अवस्था र पार्टीभित्रका जटिलताहरूलाई ध्यानमा राख्दै नेतृत्व तहले साझा समझदारी कायम गर्ने प्रयास गरिरहेको छ। यस प्रक्रियामा सबै पक्षलाई समेट्ने गरी महाधिवेशनसम्म पुग्ने लक्ष्य राखिएको उनले उल्लेख गरे।
सरकारप्रतिको पार्टीको भूमिकाबारे बोल्दै थापाले संविधान कार्यान्वयन, विधिको शासन र जनहितसँग सम्बन्धित विषयमा सकारात्मक सहयोग रहने, तर कमजोरी देखिएको स्थानमा तथ्यका आधारमा प्रश्न उठाउने नीति कायम रहेको बताए। आवश्यक परे वैकल्पिक सुझावसहित रचनात्मक आलोचना गर्ने उनले स्पष्ट पारे।
भदौ २४ मा भएको घटनासम्बन्धी विषयमा उनले निष्पक्ष छानबिनका लागि न्यायिक आयोग गठन गर्नुपर्ने माग पुनः दोहोर्याए। साथै राज्यका निकायहरूले कानुनी मर्यादा पालना नगरे लोकतान्त्रिक प्रणाली कमजोर हुने जोखिम औँल्याउँदै सरकारलाई कानुनको पालना सुनिश्चित गर्न ध्यानाकर्षण गराएको बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।