काठमाडौं– नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल कम्युनिस्ट पार्टीको ७७औँ स्थापना दिवस तथा लेनिन जयन्तीको अवसरमा सम्पूर्ण शहीदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै वामपन्थी शक्तिहरूबीच एकताको आवश्यकता औँल्याएका छन् ।
बुधबार जारी शुभकामना सन्देशमा उनले न्याय, स्वतन्त्रता र समानताको संघर्षमा जीवन उत्सर्ग गर्ने शहीदहरूको योगदान स्मरण गर्दै घाइते, अपाङ्ग तथा शहीद परिवारप्रति सम्मान व्यक्त गरेका छन् । उनले ९ वैशाख २००६ मा स्थापना भएको नेकपाले अघिसारेको जनवादी आन्दोलनले देशलाई संघीय लोकतान्त्रिक गणतन्त्रसम्म ल्याउन महत्त्वपूर्ण भूमिका खेलेको उल्लेख गरेका छन् ।
प्रचण्डले वर्तमान अवस्थामा पनि शोषण, दमन र विभेदका नयाँ स्वरूपहरू कायम रहेको भन्दै साँचो अर्थमा जनताको व्यवस्था अझै पूर्ण रूपमा स्थापित हुन नसकेको बताएका छन् । उनले समाजमा विभेद कायम रहँदासम्म कम्युनिस्ट पार्टीको औचित्य रहने उल्लेख गरे ।
सन्देशमा उनले अन्तर्राष्ट्रिय परिस्थितिको सन्दर्भ उठाउँदै साम्राज्यवाद अझ आक्रामक बन्दै गएको दाबी गरेका छन् । यस्तो अवस्थामा लेनिनका विचार र मार्गदर्शन अझ सान्दर्भिक बनेको उनको भनाइ छ ।
प्रचण्डले समाजवाद र साम्यवादको लक्ष्य प्राप्तिका लागि सबै वामपन्थी तथा कम्युनिस्ट शक्तिहरूबीच एकता अपरिहार्य रहेको उल्लेख गर्दै कम्युनिस्ट आन्दोलनको पुनर्गठनका लागि आह्वान गरेका छन् । उनले शान्ति सम्झौता र लोकतान्त्रिक गणतन्त्रको रक्षा तथा विकासका लागि सबै प्रगतिशील शक्तिहरूबीच सहकार्य आवश्यक रहेकोमा जोड दिएका छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।