काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलको बैठक आज बस्दैछ ।
प्रधानमन्त्री तथा संसदीय दलका नेता बालेन शाहको सभापतित्वमा बैठक दिउँसो १२ः १५ बजे सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बस्न लागेको हो।
बैठकमा संसदीय समितिहरूको सभापति निर्वाचन सम्बन्धमा छलफल गरिनुका साथै अन्य विविध विषय पनि कार्यसूची रहेको महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए ।
संघीय संसद् अन्तर्गत १६ वटा संसदीय समिति रहेका छन् । प्रतिनिधिसभा अन्तर्गत १० वटा र राष्ट्रिय सभा अन्तर्गत ४ वटा समिति रहेका छन् । दुई वटा संयुक्त समिति रहेका छन् ।
राष्ट्रिय सभा अन्तर्गतका विषयगत समितिका सभापतिहरूको निर्वाचन यसअघि नै भइसकेको छ । प्रतिनिधिसभा अन्तर्गतका १० वटा र संयुक्त दुई वटा समिति सभापतिको निर्वाचन हुन बाँकी छ ।
गत चैत २७ गते प्रतिनिधिसभाले विषयगत समितिमा रहने सदस्यहरू तय गरेको थियो । सोही दिन सभामुख डोलप्रसाद अर्यालले आगामी शुक्रबार संसदीय समितिका सभापतिको निर्वाचनको मिति तोकेका थिए।
सम्बन्धित समितिका कुनै सदस्यलाई सभापतिमा निर्वाचित गरियोस् भनी सोही समितिका एकजना सदस्य प्रस्तावक रही सोही समितिका कुनै अर्को एकजना सदस्यको समर्थनसहित सभापतिमा दाबी प्रस्तुत गर्न सक्दछन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।