सुनसरी– सुनसरी निर्वाचन क्षेत्र नं १ को मतगणना सुरु भएको छ । यहाँबाट श्रम संस्कृति पार्टीका अध्यक्ष समेत रहेका धरानका पूर्वप्रमुख हर्क साम्पाङलगायत उम्मेदवार रहेका छन् ।
धरान ८ सभागृहतस्थित निर्वाचन अधिकृतको कार्यालयमा आज बिहान ९ बजे सर्वदलीय बैठक बसेर बिहान ११ बजेदेखि मतगणना सुरु गर्ने निर्णय भएको थियो । तर, मतगणना भने भर्खरै सुरु भएको हो ।
मतगणनामा सहभागी हुने राजनीतिक दल तथा उम्मेदवारहरूको परिचयपत्र तयारीको कारण गणना ढिला भएको कार्यालयले जनाएको छ ।
पहिलो चरणमा धरानको वडा नं १ को २ वटा मतपेटिका खोलिएको निर्वाचन अधिकृत दिव्यराज घिमिरेले जानकारी दिए । प्रत्येक दुई घण्टामा मतगणनाको नतिजा सुनाउने सहमति भएको सर्वदलीय बैठकमा भएको छ ।
सुनसरी १ मा कुल १ लाख ५० हजार ३९३ मतदाता भएकोमा कुल ८८ हजार ३७२ मत खसेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
खसेको मतमध्ये ४७ हजार ९०८ महिला मतदाताहरूले मतदान गरेका छन् भने ४० हजार ४६४ पुरुष मतदाताहरूले मतदान गरेको निर्वाचन अधिकृत घिमिरेले जानकारी दिएका छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।