काठमाडौँ– निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले सामाजिक सञ्जाल प्लेटफर्महरू झुटा र भ्रामक प्रचारका माध्यमका रूपमा अत्यधिक प्रयोग भइरहेको बताएका छन् ।
मौन अवधिसँग सम्बन्धित विषयमा प्रेस काउन्सिल नेपालले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले अनलाइन माध्यमबाट फैलाइने गलत सूचना नियमन र नियन्त्रणका लागि आयोग सक्रिय रहेको जानकारी दिए । साथै, गलत प्रचार रोक्न सञ्चार क्षेत्रले पनि जिम्मेवार भूमिका निर्वाह गर्नुपर्ने अपेक्षा व्यक्त गरे ।
उनका अनुसार कृत्रिम बुद्धिमत्ता प्रविधिबाट तयार गरिएका डिपफेक सामग्रीको प्रयोगसमेत बढ्दो अवस्थामा रहेको छ । आयोगले उपलब्ध गराएको तथ्यांकअनुसार शुक्रबारसम्म ६१२ वटा हानिकारक प्रकृतिका सूचना पहिचान गरी अनुगमन दायरामा ल्याइएको छ । ती सामग्रीमाथि आवश्यक प्रक्रिया अघि बढाइएको जनाइएको छ ।
कानुनी प्रावधानअनुसार कारबाही अगाडि बढाउन सम्बन्धित निकायमा विवरण पठाइएको आयोगले स्पष्ट पारेको छ । विधुतीय कारोबार ऐन २०६३ अन्तर्गत पर्ने विषयहरू अनुसन्धानका लागि नेपाल प्रहरीसमक्ष पठाइएको छ ।
त्यसैगरी निर्वाचन आचारसंहिता २०८२ सँग सम्बन्धित सामग्री केन्द्रीय आचारसंहिता अनुगमन समितिमा पठाइएको तथा प्रेस काउन्सिल ऐन २०४८ अन्तर्गत पर्ने विषयहरू सम्बन्धित परिषद्मा पठाइएको आयोगले जनाएको छ ।
आयोगले मौन अवधिमा गलत तथा दुष्प्रचारजन्य सामग्रीको नियन्त्रणलाई प्राथमिकतामा राख्दै सरोकारवाला सबै पक्षको समन्वय आवश्यक रहेको धारणा व्यक्त गरेको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।