नागढुंगा–नौबिसे मलेखु सडक खण्ड आजबाट केही दिन खुला रहने भएको छ ।
नागढुंगा-पिप्लामोड खण्डको साँघुरो भागमा दोस्रो तहको कालोपत्रको काम सकिएको र धादिङको गल्छी–गजुरी खण्डमा पर्ने अप्ठ्यारो पहाड कटिङको काम भने बाँकी रहेको नागढुंगा–मुग्लिन सडक योजना पूर्वी खण्डका प्रमुख केशवप्रसाद ओझाले बताए ।
लगातार सडक बन्द गर्दा यात्रु र चालकलाई सास्ती हुने भएकाले एक/दुई दिन खुला गर्न लागिएको उनको भनाइ छ । फेरि केही दिन गल्छी–गजुरी खण्ड बन्द गरेर पहाड कटिङको काम गर्ने उनले बताए । उनका अनुसार मंसिर २४ देखि पुस १ गतेसम्म दैनिक ५ घण्टा सडक बन्द गरेर सडक सुधारको काम गरिएको थियो ।
सडक बन्द गर्दा एमाले महाधिवेशनलाई असर परेको गुनासो आएपछि २६ र २७ गते खोल्ने निर्णय गरिएको थियो । एमाले निकट युवा संघको टोलीले भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङलाई भेटेर केही सडक बन्द नगरिदिन आग्रह गरेका थिए । त्यसपछि दुई दिन दिउँसो कालोपत्रको काम रोकेर सडक खोलिएको थियो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।