काठमाडौं– भ्रष्टाचार मुद्दामा जोडिएपछि जेन-जी सहिद परिवार कल्याणकारी समाज समिति अध्यक्ष भोजविक्रम थापाले राजीनामा दिएका छन् ।
मंगलबार बसेको समितिको बैठकमा थापाले राजीनामा दिएका हुन् । गत मंसिर २४ गते सरकारसँग भएको १० बुँदे सम्झौतामा जेन–जी पक्षबाट हस्ताक्षर गर्ने थापा मेलम्ची खानेपानी आयोजनाको भ्रष्टाचार मुद्दामा जोडिएपछि विवादित बनेका थिए ।
थापाले नैतिकताका आधारमा मंगलबार अध्यक्ष पदबाट राजीनामा दिएको समितिका सदस्य तथा सहिद योगेन्द्र न्यौपानेका भाइ सुजन न्यौपानेले बताए ।
खानेपानी तथा सहरी विकास मन्त्रालयको उपसचिवबाट अवकास पाएका थापासहित १५ व्यक्ति र ३ कम्पनीविरुद्ध अख्तियारले १० फागुन २०८० मा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।
पौने ७ अर्ब रुपैयाँको भ्रष्टाचार मुद्दामा थापाविरुद्ध ३२ करोड ३५ लाख ६१ हजार ६६३ रुपैयाँ ९५ पैसा बिगो कायम गरी जरिवाना र कैद सजाय मागदाबी गरिएको थियो ।
थापाले राजीनामा दिएसँगै नारायण श्रेष्ठ नयाँ अध्यक्ष बनेको समितिका सदस्य न्यौपानेले बताए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।