काठमाडौं– धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले नेतृत्व गरेको श्रम, संस्कृति पार्टीका उपाध्यक्ष राज कुमार तामाङ लामालाई प्रहरीले पक्राउ गरेको छ ।
विश्वक्रान्ति, कुमार र देवराज लामा भनेर चिनिने ५० वर्षीय लामालाई मंगलबार कपनबाट पक्राउ गरिएको सीआईबीका एसएसपी शिव कुमार श्रेष्ठले जानकारी दिए।
२०६८ मा काठमाडौँको बबरमहलमा भएको बम विस्फोटमा संलग्न मुद्दामा जेलबाट छुटेका लामा अहिले पाँचथरमा दर्ता भएको विस्फोटक पदार्थ सम्बन्धी मुद्दामा मंगलबार काठमाडौंको कपनस्थितबाट पक्राउ परेका हुन् ।उनको स्थायी घर भने धनकुटाको पाख्रीबास- ९ हो ।
बबरमहल घटनामा २०६९ असार १२ गते पक्राउ परेर २०७६ मा प्रजातन्त्र दिवसको अवसरमा छुटेका लामा जिल्ला प्रहरी कार्यालय पाँचथरमा दर्ता भएको विस्फोटक पदार्थसम्बन्धी मुद्दामा फरार रहँदै आएका थिए । उनलाई सीआईबीले थप अनुसन्धानको लागि पाँचथर पठाएको छ ।
उनले बबरमहलमा विस्फोट गराउँदा मानबहादुर तामाङसहित ३ जनाको मृत्यु भएको थियो ।
पछिल्लो समय राजनीतिमा आउन खोजेका उनी साम्पाङको पार्टीको उपाध्यक्ष बनेका थिए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।