काठमाडौं – भिजिट भिसामा जाने यात्रुलाई बिनाकारण फिर्ता गरेपछि विमानस्थलका दुई अध्यागमन अधिकृत मन्त्रालय तानिएका छन् ।
गत ९ मंसिरमा भिजिट भिसामा ओमान जान लागेका जितबहादुर रोकालाई विमानस्थल अध्यागमनका अधिकृतहरू हेमन्ती साउद र बबिता मरासिनीले डेस्कमै रोकेर केरकार गरेका थिए ।
उनीहरूले रोकालाई किन जान लागेको ? श्रम स्वीकृति खोई ? भन्दै केरकार गरेका थिए । रोकाको सोही दिन साँझ ५ बजेर ४० मिनेटमा कतार एयरवेजको उडान थियो । तर, अध्यागमनले प्रस्थान अनुमति नदिएपछि उनको उडान छुट्यो ।
उडान छुटेपछि आफू रोकिनुको कारण सोध्दै रोका विमानस्थलबाट बाहिरिए । उता एयरलाइन्सलाई भने टिकट रद्द नगरी अतिरिक्त शुल्क तिरेर त्यही जहाजमा जाने गरी टिकट ‘होल्ड’ गराइएको थियो । ५ दिनपछि रोका पुनः अध्यागमन पुगे । साउद र मरासिनीकै डेस्कमा केरकार गरेर उनलाई फर्काइयो ।
रोकाले तोकिएका कागजातहरू साथमा बोकेर विमानस्थल अध्यागमन पुगेका थिए । तर, अध्यगमन अधिकृतले भिजिट भिसामा जान लागेका रोकालाई श्रम स्वीकृति नभएको भन्दै ‘अफलोड’ गरिदिएपछि यो विषय विवादमा तानिएको थियो ।
जबकि पर्यटक/भिजिट भिसामा विदेश जान विगतमा थोपरिएका प्रावधान संशोधन गरी गृह मन्त्रालयले वैध राहदानी, गन्तव्य मुलुकको भिसा, प्रस्थानतर्फ एकतर्फी हवाई टिकट र विदेश जानेको स्वघोषणा फाराम भरे पुग्ने व्यवस्था लागू भइसकेको छ ।
विभाग आफैंले भिजिट भिसाका प्रावधान सहज र व्यवस्थित पार्न मापदण्ड संशोधन गरेको थियो । मापदण्डमा तोकिएका वैध कागजात भएर पनि यात्रुलाई फिर्ता गरे अध्यागमनकै कर्मचारीलाई विभागीय कारबाही र जहाज छुटेमा यात्रुलाई त्यसबाट सिर्जित आर्थिक नोक्सानी कर्मचारीबाटै भराउनेसम्मका मापदण्ड जारी गरिएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।