काठमाडौँ– काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले, अन्तरराष्ट्रिय साझेदारी र लगानीमा सञ्चालन हुने आयोजनाहरूमा स्थानीय सरकार र सहरहरूलाई साक्षी प्रतिनिधिका रूपमा नभई निर्णायक भूमिकामा सार्थक प्रतिनिधित्व गराउनुपर्ने बताएकी छिन् ।
यही मङ्सिर २२ गतेदेखि २४ गते (डिसेम्बर ८–१०)सम्म बेल्जियमको ब्रसेल्सस्थित युरोपियन संघको मुख्यालयमा आयोजित अन्तरराष्ट्रिय साझेदारीका लागि सहर र क्षेत्र २०२५ मञ्च (सिटीज एण्ड रिजन्स फर इन्टरनेशनल पार्टनरसिप्स २०२५ फोरम)मा प्रस्तुतीकरण दिँदै उपप्रमुख डंगोलले यस्ता कार्यक्रममा स्थानीय सरकारहरूलाई शक्ति, स्वामित्व र निर्णायक भूमिकासहितको सहभागिता गराउनुपर्ने धारणा राखेको उनको सचिवालयले जनाएको छ ।
“भौतिक पूर्वाधार विकासलाई संरचना बनाउने कामका रूपमा मात्र हेर्नु हुँदैन । यी संरचनालाई स्थानीय सामाजिक तथा सांस्कृतिक मूल्य मान्यतासँग जोड्नुपर्छ । अनि मात्र स्थानीयले स्वामित्व ग्रहण गरेको दिगो विकास हुन्छ । यसका लागि ‘प्रोजेक्ट डिजाइनिङ’ चरणदेखि नै स्थानीयको सार्थक सहभागिता चाहिने हो ।” उनले भनिन्, “यसअघि अन्तरराष्ट्रिय साझेदारी र लगानीका अधिकांश योजना कार्यान्वयनको चरण अगाडि स्थानीय सहभागिता देखिँदैन ।”
युरोपेली संघका देश, साझेदार देशका स्थानीय तह र साझेदार क्षेत्रका अधिकारी सहभागी भएको कार्यक्रम ग्लोबल ‘गेटवे’ लगानी रणनीतिको स्थानीयकरण विषयमा केन्द्रित थियो । त्यस अवसरमा नेपालबाट उपप्रमुख डंगोल, चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरी र वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया ढकाल (भण्डारी) सहभागी थिए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।