काठमाडौं – डिसेम्बर १ देखि ५ तारिखसम्म बुसान, कोरियामा सम्पन्न World Conference on Doping in Sport मा नेपालका तर्फबाट राष्ट्रिय एन्टी–डोपिङ एजेन्सी (NADA Nepal) का संयोजक डा. अशिम भण्डारी र डा. समुक्ता आचार्यले सहभागिता जनाए। करिब २० वर्षदेखि कागजमै सीमित रहेको संस्थालाई सक्रिय बनाउने जिम्मेवारी बोकेर उनीहरू कोरिया पुगेका थिए—जहाँ १९१ देशका मन्त्री, राष्ट्रिय एन्टी–डोपिङ एजेन्सीका प्रमुख, विद्वान, वैज्ञानिक, खेल संघका प्रतिनिधि र एथलीट कमिसन सदस्यहरूको उपस्थितिमा विश्व खेलकुदका निर्णायक विषयहरूमा छलफल भयो।
नेपालको पहिलो डोपिङ केस सन् १९९७/९८ ताका सार्वजनिक भए पनि, २५ वर्ष बितिसक्दा पनि नेपालले अझै स्वतन्त्र, पूर्ण रूपमा क्रियाशील एउटा Anti-Doping Agency निर्माण गर्न सकेको छैन। २०२४ मा राष्ट्रिय एन्टी–डोपिङ एजेन्सी कानूनी रूपमा गठन भए पनि कार्यालय, कर्मचारी, बजेट, संरचना र कार्य–प्रणाली आजसम्म अस्पष्ट छन्। यस अवस्थाले नेपाललाई अन्तर्राष्ट्रिय खेलकुद समुदायमा ‘कमजोर’, ‘असक्षम र ‘अविश्वसनीय’ देशको रूपमा प्रस्तुत गरेको छ।
नेपालको यस दीर्घकालीन कमजोरीका केही प्रमुख कारणहरू यसप्रकार छन्—
1. २० वर्षसम्म संस्थागत विकास शून्य: कतिपय व्यक्तिहरूले आफूलाई ‘एन्टी–डोपिङका विशेषज्ञ’ का रुपमा वैदेशिक यात्रा गरे पनि देशलाई दिशाहीन बनाइयो।
2. डोपिङ घटनाले देशको इज्जतमै घाउ:
2006 एथलेटिक्समा र 2022 मा पाँच भरततोलनका खेलाडीहरू डोपिङ पोजिटिभ आएर हाल प्रतिबन्धमा रहेका छन्। देश–विदेशमा नेपाल ‘कमजोर प्रणाली’ भएको आरोपमा पटक–पटक बदनामी आयो।
3. २०२४ मा बनेको NADA Nepal पनि अद्यापि असक्षम: आजसम्म कार्यालय सञ्चालन, प्रशासनिक संरचना र बजेटीय स्पष्टता छैन।
4. खेल संघ–मन्त्री–राष्ट्रिय खेलकुद परिषद् कुनै पनि स्तरमा गम्भीर नबन्नु : सप्लिमेन्ट र औषधि सिकाइको अभावले खेलाडीहरू अनावश्यक जोखिममा परेका छन्।
कोरियामा के भयो?
यस सम्मेलनबाट २०२७ देखि लागू हुने World Anti-Doping Code लगायत नयाँ अन्तर्राष्ट्रिय मापदण्डहरू पारित भए। नेपालका प्रतिनिधिहरूले प्रत्यक्ष रुपमा यी सबै प्रक्रियाको अनुभव बटुले—अब नेपालले आफ्ना नीति, नियम र कार्यविधि विश्व मापदण्डसँग मिलाएर अघि बढाउने मौका पाएको छ।
पहिलोपटक, नेपाल सरकार वा राष्ट्रिय खेलकुद परिषद्लाई जानकारी नदिई मनपरी ‘विदेश भ्रमण’ गर्ने प्रवृत्ति रोक्ने सम्भावना देखिएको छ।
डा. भण्डारीको नेतृत्वमा गयेको प्रतिनिधिमण्डलले नेपाललाई पारदर्शी र आधिकारिक रूपमा प्रस्तुत गर्यो—जसले ‘Nepal’s Anti-Doping Effort’ लाई विश्वसमक्ष विश्वसनीय रूपले उठाएको छ।
यसअघि यस्तै खेलकुदका विभिन्न फोरमहरूमा जाँदाखेरि मन्त्रालय र राष्ट्रिय खेलकुद परिषदलाई जानकारी नै नदिई विभिन्न व्यक्तिहरूले नेपालको नाममा जाने गरेका थिए।
सम्मेलनमा खेलकुद मन्त्रालयका प्रतिनिधि वा मन्त्रीस्तरीय सहभागिता नभएको प्रश्न भने नेपालभित्र उठ्न थालेको छ।
किन मन्त्री वा मन्त्रालयबाट कोही सहभागी भएनन्?
किन कुनै पनि नेपाली खेलाडीलाई सहभागी गराइएन?
विभिन्न देशहरूले आफ्नो देशको खेलकुद मिडियालाई त्यहाँ सहभागी गराउँदै गर्दा नेपालले आफ्नो देशको मिडियालाई सहभागिता गराउन आवश्यक नै ठानेन ।
के नेपाल अझै पनि ‘कामचलाउ’ प्रणालीमै अड्किन्छ, वा सुधारतर्फ अघि बढ्छ?
विश्व सम्मेलनमा नेपालले के–के गर्यो?
छ वर्षपछि भएको यस विश्व सम्मेलन एसियामा भने पहिलोपल्ट मात्र भएको हो।
* WADA का अध्यक्ष, उपाध्यक्ष तथा विभिन्न देशका एन्टी–डोपिङ प्रमुखहरूसँग महत्त्वपूर्ण भेटवार्ता।
* सम्भावित सहकार्य, शिक्षा कार्यक्रम र प्राविधिक सहयोगबारे प्रारम्भिक छलफल।
* नेपालका कमजोरी र सुधारका सम्भावित मार्गबारे अन्तर्राष्ट्रिय विशेषज्ञहरूसँग प्रत्यक्ष संवाद।
नेपालका लागि अब के?
नेपाल अहिले विश्व खेलकुदको दृश्यपटलमा लगभग शून्य उपस्थितिमा छ। यो अवस्थाबाट बाहिर ननिस्किए नेपालले अर्को १० वर्ष पनि ठोस प्रगति गर्न सक्ने संकेत देखिँदैन।
खेलाडीको सुरक्षा, प्रशिक्षकको जिम्मेवारी, खेल संघहरूको पारदर्शिता, र डोपिङमुक्त वातावरण अब बोलिमा मात्र नभई—व्यवहारका विषय बन्नुपर्छ।
अब नजर सबैको युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद्कैतिर छ—
के उनीहरू २५ वर्षको सुन्यताबाट जागेर सुधारको यात्रामा लाग्छन्?
कि फेरि अर्को सम्मेलनसम्म नेपाल उही अँध्यारोमा?
नेपालले अब निर्णय लिनुपर्छ—
्“डोपिङमुक्त खेलकुद” नारामात्र राख्ने कि वास्तवमै लागू गर्ने?
यसपटक WADA सम्मेलनमा भएको सहभागिता—यदि सही रूपमा उपयोग गरियो भने—नेपालको खेलकुद इतिहासमा पारदर्शिता, जिम्मेवारी र स्वच्छ खेलकुद का लागि वास्तविक प्रारम्भिक बिन्दु बन्न सक्छ
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।