इलाम – सन्दकपुर गाउँपालिकाका किबी कृषकले गाउँपालिकालाई ‘किबी जोन’ घोषणा गर्न माग गरेका छन्। गाउँपालिकामा किबी क्षेत्र घोषणा गर्न योग्य सूचक रहेको र क्षेत्र घोषणापछि किबी उत्पादन अझै व्यावसायिक बन्ने भन्दै किबी क्षेत्र घोषणा गर्न माग गरेका हुन्।
किबी क्षेत्र घोषणाका लागि १० हजार रोपनी क्षेत्रफलमा किबीखेती भएको र एक लाख ५० हजार बिरुवा आवश्यक पर्छ। ती प्रावधान पूरा गरिसकेकाले भौगोलिक रुपमा गाउँपालिका किबीखेती गर्न योग्य भएकाले किबी जोन घोषणा गर्न माग गरेको सन्दपुर किबी तथा कृषि सहकारी संस्थाका अध्यक्ष देउकुमार राईले बताए।
“हाम्रो गाउँको ९८ प्रतिशत क्षेत्रमा किबीखेती हुन योग्य जमिन छ । हाम्रो किबी क्षेत्र घोषणा गर्नका लागि मापदण्ड पनि पुग्छ” उनले भने, “यहाँको एक हजार २०० मिटर क्षेत्रफलदेखि २५ मिटरसम्म किबीखेती हुन्छ।
राईका अनुसार स्थानीय तहअन्तर्गत सन्दकपुर गाउँ कार्यपालिकामा पनि सिफारिस र आवश्यक कागजात पेश गरिसकिएको छ । सन्दकपुर गाउँपालिकामा यस वर्ष मात्रै दुई लाख किलोग्राम किबी उत्पादन भएको छ।
किबी क्षेत्र घोषणाका लागि जिल्ला कृषि कार्यालयबाट सिफारिस गर्न पाउनु पर्ने कृषकको भनाइ छ।
जिल्ला कृषि कार्यालयका प्रमुख राम सोगराथ साहले किबी क्षेत्र घोषणाका लागि सबै मापदण्ड पुगेमा कार्यालयले सिफारिस गर्न समस्या नपर्ने बताए। ‘हामीले आफैँ जोन घोषणा गर्ने होइन । हामीले कृषि मन्त्रालयमा र प्रधानमन्त्री कृषि आधुनिकीरण परियोजनामा सिफारिस गर्नुपर्छ,’ उनले भने।
किबी क्षेत्र घोषणापछि चिस्यान केन्द्र स्थापना हुने, प्रशोधनका लागि कारखाना निर्माण तथा किबी अनुसन्धान केन्द्रको समेत निर्माण हुन्छ। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।