काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीका प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठले ‘जेन–जी’का नाममा श्रीमती, साली र भाञ्जीलाई जागिर खुवाएका छन्।
‘जेन–जी’ आन्दोलनमा शहीद भएका परिवार र घाइतेलाई दिने भनेको जागिरमा आदर्शले जहान संगीता श्रेष्ठलाई जागिर खुवाएका हुन्।
सर्वोच्च अदालतमा करारमा नायब सुब्बासरहको ‘सफ्टवेयर सपोर्ट पर्सन’मा कार्यरत आदर्शलाई प्रधानमन्त्री कार्कीले विशिष्ट श्रेणी सचिवसरहको सेवा सुविधा पाउने गरी प्रमुख स्वकीय सचिव बनाएकी थिइन्।
सर्वोच्च अदालतको पेशी व्यवस्थापनमा सेटिङ र चलखेल गरेको आरोप लाग्दै आएका सिन्धुलीका आदर्शले आफ्नो नाम नै बदनाम हुने गरी ‘जेन–जी’का नाममा जहानलाई जागिर खुवाएका हुन्। उनले सर्वोच्च अदालतमा जस्तै प्रधानमन्त्रीको स्वकीय सचिवालयमा समेत सेटिङ मिलाएर परिवारका सदस्य र नातेदारलाई व्यवस्थापन गरेको चर्चा छ।
आदर्शले प्रधानमन्त्री कार्कीको सचिवालयमा श्रीमती संगीतालाई राजपत्राङ्कित प्रथम श्रेणी सह-सचिवसरहको स्वकीय सहसचिवमा नियुक्ति दिलाएका हुन्। त्यस्तै साली पर्ने भनिएकी कमला श्रेष्ठलाई पनि उनले सह-सचिवसरह कै स्वकीय सहसचिव बनाउन भ्याएका हुन्।
यस्तै स्वकीय सचिवालयमा आदर्शले भाञ्जी पुनम श्रेष्ठलाई नायब सुब्बासरहको प्रशासन सहायक र अर्की नातेदार रविना श्रेष्ठलाई पनि नायब सुब्बा सरह कै प्रशासन सहायकमा जागिर खुवाएको खुल्न आएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।