काठमाडौँ – स्वास्थ्य मन्त्री डा. सुधा शर्मा गौतमले माइतीघर मण्डलामा २६ कात्तिकदेखि आमरण अनशन बसेका यादव सिंहलाई आज भेट गरेकी छन्।
जेनजी आन्दोलनको माग सम्बोधन गर्नुपर्ने भन्दै सिंह माइतीघरमा आमरण अनशन बसिरहेका छन्।
उनलाई भेट्न स्वास्थ्य मन्त्री शर्मा आज माइतीघर पुगेकी हुन्। मन्त्री शर्माले सिंहको स्वास्थ्य अवस्थाबारे जानकारी समेत लिएकी छन्।
उनले युवाहरूको शान्तिपूर्ण आन्दोलनमा सरकारले हस्ताक्षर गरेको 'शान्ति सुरक्षा कायमका लागि बल प्रयोग गर्दा अपनाउनुपर्ने न्यूनतम मापदण्ड' विपरीत ताकीताकी शरीरका माथिल्लो अङ्गहरूमा गोली हानि हत्या गर्न बाध्य पार्ने तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकलाई तुरुन्त पक्राउ गरी प्रचलित फौजदारी कानुन बमोजिम सामूहिक हत्याका मुद्दामा कारबाही अगाडि बढाउन माग गरेका छन्।
यस्ता छन् सिंहको थप मागहरू:
- जेनजी आन्दोलनको सहिद परिवार र घाइतेहरूको माग तत्काल सम्बोधन गर।
- जेनजी आन्दोलनलाई कु–शासन र भ्रष्टाचार विरुद्धको जनआन्दोलन घोषणा गर।
- राजनैतिक पद र प्रशासनिक ओहोदामा बसी अकुत आर्जन गर्नेहरूलाई भ्रष्टाचार जन्य कसुरको दायरामा ल्याउन उच्च स्तरीय सम्पत्ति छानबिन न्यायिक आयोग गठन गर्ने र अदालतका न्यायाधीशहरुको सम्पत्ति छानबिन र कारबाहीको लागि न्याय परिषद् मार्फत छानबिन आयोग गठन गरी प्रतिवेदनको दोषी देखि देखाएका राजनैतिक पदाधिकारी प्रशासनिक व्यक्तिहरू र न्यायाधीशलाई तत्काल कारबाहीको दायरामा ल्याउँदै भ्रष्टाचारको अन्त्य गर।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।