देउखुरी– दाङको गढवा गाउँपालिका–४, अजगढवामा जुकाको ‘औषधि घाँटीमा अड्किएर’ १८ महिने बालिकाको मृत्यु भएको छ।
अजगढवाका शिवकुमार यादवकी १८ महिने छोरी जमुनाको मृत्यु भएको इलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक डबलबहादुर बमले जानकारी दिए।
राष्ट्रव्यापी रूपमा यही कात्तिक २० र २१ गते भिटामिन ‘ए’ र जुकाको औषधि वितरण कार्यक्रम सञ्चालित थियो। उनका अनुसार, त्यसअन्तर्गत बिहीबार गढवा–४, रामनगरमा औषधि खुवाउने बेला बालिकाको घाँटीमा अड्किएको थियो। त्यसपछि सास रोकिएर केही मिनेटमा उनको घटनास्थलमा नै मृत्यु भएको अनुसन्धानका क्रममा खुलेको हो। प्रारम्भिक अनुसन्धान भइरहेकाले घटना सार्वजनिक नगरिएको प्रहरीको भनाइ छ।
महिला स्वास्थ्य स्वयंसेविकाद्वारा खुवाइएको औषधि बालिकाको घाँटीमा अड्किएर श्वासप्रश्वासमा समस्या भएको प्रहरीले जनाएको छ। प्रहरी निरीक्षक बमले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा शव परीक्षण गरी परिवारलाई बुझाइएको जानकारी दिए।
घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए। पोस्टमार्टम रिपोर्ट आएपछि थप प्रस्ट हुने उनले उल्लेख गरे। उनले भिटामिन ‘ए’ र जुकाको औषधि सावधानी अपनाएर खुवाउनुपर्नेमा जोड दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।