काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेल सोमबार कतार भ्रमणमा जाने भएका छन्। कतारका अमिर शेख तमिम बिन हमद अल थानीको निमन्त्रणमा उनी सोमबार कतार जान लागेको परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईले जानकारी दिए।
भ्रमणको क्रममा कतारको राजधानी दोहामा यही कात्तिक १८ देखि २० गतेसम्म आयोजना हुने ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’मा सहभागी हुनेछन्। राष्ट्रपति पौडेलले कात्तिक १८ गते सम्मेलनको मुख्य सत्रलाई सम्बोधन गर्ने कार्यतालिका रहेको मन्त्रालयले जनाएको छ।
सचिव राईले ३० वर्षपछि हुन लागेको सम्मेलनको महत्त्व र गरिमाअनुरूप नेपालबाट राष्ट्रपतिको सहभागिता हुन लागेको उल्लेख गरे ।
सम्मेलनका क्रममा राष्ट्रपति पौडेलसँग कतारका अमिर र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसलगायत विभिन्न विशिष्ट व्यक्तिहरूको भेटवार्ता हुनेछ ।
सम्मेलनमा वर्तमान विश्वले सामना गर्नुपरेका विकास असमानता, जनसङ्ख्यामा आएको असन्तुलन र प्रविधिका कारण समाजमा परेको प्रभावलगायत विषयमा विभिन्न कोणबाट गहन छलफल हुने बताइएको छ । सम्मेलनले सामाजिक विकासका लागि सहकार्य र सहयोगका विषयमा साझा प्रतिबद्धता जाहेर गर्ने जनाइएको छ ।
सन् १९५५ मा संयुक्त राष्ट्रसङ्घको सदस्य भएपछि नेपाल शान्ति र स्थायित्वका लागि सधैँ सक्रिय र प्रतिबद्ध रहिआएको छ । हाल नेपाल राष्ट्रसङ्घको आर्थिक तथा सामाजिक परिषद्को अध्यक्ष रहेको छ । कतारबा६ राष्ट्रपति पौडेल यही कात्तिक २० गते स्वदेश फर्कने मन्त्रालयले जनाएको छ । उनी १२ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गरेर जाँदैछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।