काठमाडौं- इजरायलमा हमासद्वारा नियन्त्रणमा लिइएका विपिन जोशी जीवित नरहेको इजरायली सेनाका अधिकारीले बताएका छन् ।
इजरायली सेना आईडीएफका एक अधिकारीले इजरायलको स्थानीय समय अनुसार आज बिहान साढे ७ बजे विपिन जीवित नरहेको औपचारिक जानकारी दिएका हुन् ।
ती अधिकारीले इजरायलका लागि नेपाली राजदूत धनप्रसाद पण्डित, अमेरिकामा रहेकी विपिनकी बहिनी, नेपालमा रहेका विपिनका दाजु किशोर र इजरायलको प्रधानमन्त्री कार्यालयका दुई अधिकारीहरुलाई भिडियो कन्फरेन्समा जोडेर विपिन जीवित नरहेको औपचारिक जानकारी दिएको राजदूत पण्डितले बताए ।
'हामीलाई फोन गरेर जानकारी दिइयो कि विपिन अब जीवित छैनन्,' राजदूत पण्डितले नेपाल लाइभसँग भने, 'त्यसपछि अमेरिकामा रहेकी उनकी बहिनी पुष्पा जोशी र महेन्द्रनगरस्थित ठुलोबुबाका छोरा किशोर जोशीसँग भिडियो कन्फ्रेन्समार्फत सम्पर्क गरी जानकारी गराइयो।'
पण्डितका अनुसार यसबारे थप विवरण इजरायली पक्षसँग समन्वय गरेर लिइँदैछ। उनले भने, 'हामी घटनाका सबै विवरण आधिकारिक रूपमा सुनिश्चित गर्न इजरायली अधिकारीहरूसँग निरन्तर सम्पर्कमा छौं।'
राजदूत पण्डितले शवको विषयमा कहिले प्राप्त गर्ने भन्ने विषय पनि स्पष्ट नभएको बताए ।
विपिन जोशी विद्यार्थी भिसामा इजरायल पुगेका थिए। हमासको आक्रमणका बेला उनी किबुत्ज अलुमिममा रहेका बेला सम्पर्कविहीन भएका थिए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।