काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीले विपद् व्यवस्थापनका लागि सरकारलाई २२ बुँदे सुझाव दिएको छ ।
दसैँ पर्वकै बीचमा आएको यो विपद्को बेला राज्य संयन्त्र, सुरक्षाबल, नागरिक समाज, स्वास्थ्यकर्मी, पत्रकार, स्वयंसेवक तथा स्थानीय सरकारहरूले देखाएको तत्परता र समर्पण उल्लेखनीय रहेको प्रवक्ता मनिष मनिष झाले बताएका छन् ।
उनले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘प्रारम्भिक चेतावनी प्रणाली सक्रिय पारिनु, उद्धार टोलीहरूको समयमै परिचालन, हवाई र स्थल उद्धारको प्रभावकारी संयोजन, जनकेन्द्रित निर्णय, प्रशासनको पारदर्शी भूमिका र नागरिक सहकार्यले उत्तरदायी शासनप्रतिको जनविश्वास बढाएको छ ।’
सरकारको नेतृत्व गम्भीर, इमानदार र जनउत्तरदायी भएपछि जनताले सरकार छ भन्ने आत्मविश्वास अनुभव गर्न सक्ने उल्लेख छ । बलियो सरकार धेरै सांसद संख्याले नभई सार्वजनिक सेवा र उत्तरदायी संयन्त्रले बनाउने बताएका छन् ।
वर्तमान परिस्थितिलाई गम्भीरतापूर्वक लिँदै पार्टीको भर्चुअल बैठक बसेको भन्दै विज्ञप्तिमा भनिएको छ, ‘वर्तमान राज्य संयन्त्रबाट देखिएको तदारुकताको सराहना गर्दै सरकारको गम्भीरता र तत्परतालाई सकारात्मक रूपमा मूल्याङ्कन गरेको छ । साथै, पार्टीले यो विपद्को घडीमा आफ्नो जिम्मेवारी निरन्तर पूरा गर्ने प्रतिबद्धता पनि व्यक्त गरेको छ ।’
बैठकले पार्टीका सबै तह र संरचनालाई आफ्नो सीप, स्रोत र पहुँचअनुसार उद्धार तथा राहत कार्यमा संलग्न हुन आह्वान गरेको छ ।
हालसम्मको क्षति र राहत सम्बन्धी विवरणहरू साझा गर्न, सूचनाको प्रवाहलाई सुदृढ बनाउन, र तुलनात्मक रूपमा कम प्रभावित प्रदेशहरूले बढी प्रभावित प्रदेशहरूलाई सहयोग पुर्याउन अनुरोध पनि गरेको छ ।
साथै, आवश्यकताअनुसार प्रमुख राजमार्गहरूमा अस्थायी “हेल्प डेस्क” स्थापना गरी यात्रु र प्रभावित नागरिकलाई तत्काल सहयोग पुर्याउन आह्वान समेत गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।