नयाँ दिल्ली –एक १३ वर्षीय बालक प्लेनको ल्यान्डिङ गियरमा लुकेर भारत पुगेका छन्।
आइतबारको यो घटनापछि ती बालकलाई सोधपुछ गरी फेरि अफगानिस्तान फिर्ता पठाइएको छ।
अफगानिस्तानको काम एयरलाइन्सको फ्लाइट आरक्यू–४४०१ काबुलको हामिद करजई एयरपोर्टबाट भारतीय समयअनुसार बिहान ८ बजेर ४६ मिनेटमा उठान भरेको थियो। बिहान १० बजेर २० मिनेटमा दिल्लीस्थित इन्दिरा गान्धी इन्टरनेशनल एयरपोर्टको टर्मिनल ३ मा अवतरण भयो।
अवतरणपछि एयरलाइनका कर्मचारीहरुले फ्लाइटनजिक एक बालिक घुमिरहेको देखे। तत्काल सुरक्षा अधिकारीलाई खबर गरेपछि विमानस्थलका सुरक्षा अधिकारीले हिरासतमा लिए र प्रहरीलाई सुम्पिए।
भारतीय सञ्चारमाध्यमहरुका अनुसार ती बालकले विमानबाट जमिन कस्तो देखिन्छ भन्ने जिज्ञासाका कारण आफू फ्लाइट ल्यान्डिङ गियरमा बसेको बयान दिए। नाम र विवरण नखुलाइएका ती बालक अफगानिस्थानको कुन्दुज शहरका हुन्।
काबुल एयरपोर्टमा प्रवेश गरेका ती बालक विमानस्थलका सुरक्षा अधिकारीबाट बच्दै विमानको पछिल्लो ल्यान्डिङ गियरमा लुकेको इन्दिरा गान्धी एयरपोर्टका अधिकारीहरुले बताएका छन्। विमानको पूरा जाँच गरेपछि सुरक्षित घोषणा गरिएको थियो। आइतबार नै ती बालकलाई सोही फ्लाइटबाट अफगानिस्तान फिर्ता पठाइएको छ।
सुरक्षा जाँचमा ल्यान्डिङ गियर कम्पार्टमेन्टमा एक सानो रातो स्पिकर फेला परेको छ। जसलाई ती बालकलाई आफ्नो साथमा ल्याएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।