काठमाडौं– पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिका वडानम्बर १० जवाङ खोलामा सुक्खा पहिरो खसेपछि मुग्लिन–काठमाडौं सडकखण्ड दुईतर्फी अवरुद्ध भएको छ।
धादिङका प्रहरी प्रमुख एसपी भेषराज रिजालका अनुसा गएराति खसेको पहिरो पन्छाएर एकतर्फी सडक सञ्चालन गरिएको थियो। तर राति नै फेरी ठूलो पहिरो झरेपछि सडक दुईतर्फी नै बन्द भएको बताए।
उनले कम्तीमा पनि ५ घण्टाभन्दा बढी समय पहिरो पन्छाउन लाग्ने बताए। एसपी रिजालका अनुसार पहिरो पन्छाउन तीन वटा मेसिनले काम गरिरहेको छ। तर, माथिबाट पहाड नै चिरा परेको कारण अझै पनि ठूलो पहिरो खस्ने सम्भावना देखिएको छ।
रातिदेखि नै सडक बन्द भएकाले यात्रुहरु र गाडीका स्टाफहरु बाटोमा अलपत्र परेका छन्। उनीहरुलाई सुरक्षित ठाउँमा रहन र लेन अनुशासन पालना गरेर प्रतीक्षा गर्न प्रहरीले भनेको छ।
यता नारायणगढ मुग्लिङ सडक खण्डको तुइनखोलामा पनि अहिले सडक अवरुद्ध रहेको छ।
बिहान खसेको पहिरोले बन्द भएको सडक खुलाउन करिब एक घण्टा लाग्ने डिभिजन सडक कार्यालय चितवनका इन्जिनियर अर्जुन घिमिरेले जानकारी दिए।
यसअघि गत शुक्रबार मुग्लिन–नारायणगढ खण्डको तुइन खोलानेर खसेको पहिरोले ४० घण्टासम्म बाटो बन्द हुँदा यात्रुहरु हैरान परेका थिए। त्यतिबेला सडकमा परेको गाडीको चाप सामान्य नहुँदै धादिङको जवाङ खोलामा पनि पहिरो झरेपछि यात्रुहरु झन् समस्यामा परेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।