काठमाडौं– मुग्लिन–नारायणगढ सडकखण्डको तुइन खोला पुल नजिक खसेको पहिरो पन्छाउने काम आज बिहानैदेखि पुन: सुरु गरिएको छ।
अहिले बिहानैदेखि मुग्लिन साइडतर्फ र नारायणगढ तर्फबाट मेसिन परिचालन गरी पहिरो पन्छाउने कार्य सुरू भएको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ।
यद्यपि ढुंगा झर्ने क्रम अझैसम्म पनि रोकिएको छैन। थप पहिरो नझरे, निरन्तर रूपमा कार्य गर्दा बाधा भएन भने छिटोभन्दा छिटो सवारी आवागमन सञ्चालनमा ल्याउन सकिने डिभिजन कार्यालय भरतपुरले जनाएको छ।
चितवनको इच्छाकामना गाउँपालिकास्थित तुइन खोलानेर शुक्रबारदेखि निरन्तर पहिरो खसिरहेको छ। शुक्रबार रातिदेखि नै सडक अवरुद्ध हुँदा यात्रुहरू बाटोमै अलपत्र परेका छन्।
त्यस्तै नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाका अनुसार हिजो र आजका लागि टिकट काटेका यात्रुहरूको सङ्ख्या २० हजारभन्दा बढी रहेको र उनीहरू सबै अलपत्र परेका छन्।
'यदि अहिले गाडीहरूलाई पठाइएमा पनि उनीहरू बाटोमै अलपत्र पर्ने जोखिम छ। सामान्य अवस्थामा पनि गन्तव्यसम्म पुग्न कम्तीमा ६(७ घण्टा लाग्ने गर्छ, तर अहिले बाटोको अवस्था अनिश्चित भएकाले यात्रा थप कष्टकर हुनेछ,' सिटौलाले भने।
'अहिले यात्रुहरूका लागि दुई विकल्पमाथि छलफल गरिरहेको छ। पहिलो, यात्रा गर्ने नचाहने यात्रुहरूलाई टिकटको पैसा फिर्ता गर्ने व्यवस्था गर्ने' उनले भने, 'दोस्रो, बाटो खुलेपछि मात्रै यात्रा गर्ने इच्छा राख्ने यात्रुहरूका लागि सोही अनुसारको व्यवस्थापन गर्ने।'
सिटौलाले अग्रिम टिकटको बिक्री तत्कालका लागि रोकिएको र अहिलेको अवस्थामा थप टिकट दिन नसकिने स्पष्ट पारेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।