काठमाडौं– केही दिनयताको वर्षासँगै आएको बाढी र पहिरोले देशका विभिन्न सात राजमार्ग अवरुद्ध भएका छन्। हाल ती क्षेत्रमा पहिरो पन्छाउने काम जारी रहेको प्रहरीले जनाएका छ।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेका अनुसार कोशी राजमार्गको भोटखोलामा सडक पूर्ण रुपमा अवरुद्ध छ। कोशी राजमार्गकै मकालु गाउँपालिकाको एकुवामा पनि सडक अवरुद्ध छ।
त्यसैगरी सिद्धिचरण लोकमार्गको कटारी नगरपालिका–८ सिरिसेमा पहिरोले सडक अवरुद्ध छ। बाढीका कारण रसुवासँग चीन जोड्ने मितेरी पुलमा पनि बाढीले सडक अवरुद्ध भएको छ।
अरनिको राजमार्ग अन्तर्गत सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकाको कोदारी र डाक्लाङमा पहिरो खसेर दुवै स्थानमा अवरुद्ध छ।
चितवनको इच्छाकामना गाउँपालिका–५ तुइन खोलामा पहिरो खसेर नारायणगढ मुग्लिन सडक अवरुद्ध छ। यहाँ शुक्रबार बेलुकादेखि पहिरो खस्न थालेको र आज बिहान पनि खसिरहेकाले पन्छाउन समस्या भएको प्रहरीले जनाएको छ।
कालीगण्डकी करिडोर रत्न राजमार्ग, पूर्वपश्चिम राजमार्ग गल्छी त्रिशूली सडकलगायतमा भने एकतर्फी रुपमा खुलाइएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।