चितवन– नारायणगढ–मुग्लिन सडकखण्डमा हिजो साँझदेखि खसेको पहिरोका अवरुद्ध सडक शनिबार बिहान १० बजेसम्म सञ्चालनमा आउन सकेको छैन।
चितवनको तुईन खोला पुल नजिकै निरन्तर पहिरो झर्दा यातायात पूर्णरूपमा ठप्प भएको हो।
हिजो साँझ करिब ७:१५ बजेतिर खसेको ठूलो पहिरोपछि रातभर ढुंगा खस्ने क्रम नरोकिएकाले तत्काल सडक सञ्चालनमा ल्याउन सम्भव नभएको र यात्रु सुरक्षालाई मध्यनजर गर्दै बिहान ४ बजेसम्मका लागि आवागमन नगर्न हिजै आग्रह गरिएको थियो।
तर सडक डिभिजन सडक कार्यालय चितवनका प्रमुख नारायण लामिछानेका अनुसार रातभर पटक-पटक गरी खसेको पहिरोले करिब १०० मिटर सडक ढाकेको छ।
हाल तीनवटा लोडर र दुईवटा एक्साभेटर परिचालन गरी दुवैतर्फबाट पहिरो हटाउन प्रयास भइरहेको छ। मुग्लिनतर्फबाट थप एउटा एक्साभेटर पनि साइटतर्फ जाँदै छ।
सडक डिभिजनका अनुसार माथिबाट ढुंगा खस्ने क्रम रोकिएमा अझै कम्तीमा चार घण्टामा सडक सञ्चालनमा ल्याउन सकिने सम्भावना छ। त्यसैले सबै सहज ढंगले काम भएमा दिउँसोतिर मात्रै सडक खुल्ने अनुमान गरिएको छ।
यसबीच यात्रुहरूलाई धैर्य गर्न तथा सुरक्षित स्थानमा रहन अनुरोध गरिएको छ।
पहिरो खसेको ठाउँ मुग्लिनबाट २.५ किलोमिटर नारायणगढतर्फ पर्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।