काठमाडौं– सन् २०२० मा अस्ट्रेलियामा हुने आइसिसी टी–२० विश्वकप क्रिकेटअन्तर्गत एसिया छनोट प्रतियोगितामा नेपालले चीनलाई १० विकेटको फराकिलो अन्तरले पराजित गरेको छ।
_x000D_
_x000D_
चीनले दिएको २७ रनको लक्ष्य नेपालले १.५ ओभरमा विनाविकेटको क्षतिमा पूरा गर्यो। नेपालका लागि ८ बलमा नटआउट २४ रन जोडे। उनले ३ चौका र १ छक्का प्रहार गरे। अर्का ओपनर प्रदीप ऐरी ३ बल खेलेर ४ रनमा नटआउट रहे।
_x000D_
_x000D_
त्यसअघि बुधबार मलेसियाको बायुमास ओभलमा टस जितेको नेपालले पहिले बलिङ गर्ने निर्णय गरेपछि पहिले ब्याटिङ गरेको चीन १३ ओभरमा २६ रनमा अलआउट भयो। चीनका लागि ओपनर जियाङ हाङले सबैभन्दा बढी ११ रन जोडे। उनले २७ बलमा १ चौका प्रहार गरे। अन्य १० ब्याट्सम्यानले दोहोरो अंकमा रन बटुल्न सकेनन्।
_x000D_
_x000D_
नेपालका लागि सन्दीप लामिछाने, बसन्त रेग्मी र ललितनारायण राजवंशीले ३-३ विकेट लिए। सन्दीपले ४ ओभरमा १ मेडन राखेर ४ रन खर्चिए भने समान ओभर बलिङ गरेका बसन्तले पनि १ मेडन फ्याँक्दा ५ रन दिए। राजवंशीले ३ ओभरमा १ मेडन राख्दा १२ रन खर्चिए।
_x000D_
_x000D_
मंगलबार भुटानमाथि १ सय १७ रनको जित निकालेको नेपाल पहिलो चरणको २ खेल बाँकी रहदै दोस्रो चरणमा पुगेको थियो। नेपालले पहिलो खेलमा म्यानमारलाई ८ विकेट, दोस्रो खेलमा आयोजक मलेसियालाई पनि ८ विकेट र तेस्रो खेलमा थाइल्यान्डलाई १ सय ४० रनले पराजित गरेको थियो।
_x000D_
_x000D_
नेपालले अब शुक्रबार सिंगापुरसँग खेल्नेछ। नेपालका लागि सिंगापुरविरुद्धको खेल उपाधि भिडन्त जस्तै हुनेछ।
_x000D_
_x000D_
प्रतियोगितामा नेपालसहित सिंगापुर, मलेसिया, भुटान, चीन, म्यानमार र थाइल्याण्डबीच प्रतिस्पर्धा भइरहेको छ। नेपाल र सिंगापुरले दोस्रो चरणमा स्थान पक्का गर्दा अब बाँकी एक स्थानका लागि मलेसिया र थाइल्यान्डबीच प्रतिस्पर्धा हुनेछ। मलेसिया र थाइल्यान्ड दुवैले ५–५ खेल खेलेर ५–५ अंक नै जोडेका छन्। मलेसियाले चीनसँग र थाइल्यान्डले म्यानमारसँग खेल्न बाँकी छ। कमजोर प्रदर्शन गरेका चीन, भुटान र म्यानमार भने पहिलो चरणबाटै बाहिरिसकेका छन्।
_x000D_
_x000D_
यसअघि एशियाको पश्चिम क्षेत्रीय छनोटबाट युएई, कतार र कुवेत दोस्रो चरणमा प्रवेश गरिसकेका छन्। दोस्रो चरणमा युएई, कतार र कुवेतसँगै पूर्व क्षेत्रबाट छनोट भएका नेपाल, सिंगापुर र १ टिम (थाइल्यान्ड वा मलेसिया) बीच प्रतिस्पर्धा हुनेछ। ६ टिम बीचको दोस्रो चरणको प्रतिस्पर्धाबाट २ टिम अन्तिम चरणका लागि छनोट हुनेछन्। अन्तिम चरणमा विश्वभरबाट छानिएका १४ टिमबीच प्रतिस्पर्धा हुने र तीमध्ये ६ टिम टी–२० विश्वकप २०२० का लागि छनोट हुनेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।