काठमाडौं – अफगानिस्तानमा आइतबार राति ६.३ तीव्रताको भूकम्प जाँदा कम्तिमा २५० जनाको मृत्यु भएको छ।
५०० भन्दा बढी घाइते भएका छन्। घाइतेहरुलाई नंगरहार र कुनार प्रान्तका अस्पतालमा भर्ना गरिएको छ।
यो भूकम्प भारतीय समयअनुसार राति १२:४७ बजे जलालाबाद नजिक गएको हो। एनबीसी न्यूजले भूकम्पबाट २५० जनाको मृत्यु र ५०० जनाभन्दा बढी घाइते भएको जनाएको छ।
न्यूयोर्क टाइम्सले पनि सय भन्दा बढीको मृत्यु भएको र मृतकको संख्या अझै बढ्नसक्ने अनुमान गरिएको जनाएको छ।
नेशनल सेन्टर फर सिस्मोलोजी (एनसीएस) का अनुसार भूकम्पको केन्द्र जमिनबाट १६० किलोमिटर तल थियो। यसको झट्का पाकिस्तानको इस्लामाबाद र एबटाबादसम्म महसुस गरिएको थियो।
पहिलो झट्कापछि लगातार परकम्पहरु आइरहेका थिए। ठूला परकम्पहरुमा ४.७, ४.३ र ५.० तीव्रता मापन भएको छ।
यसअघि अफगानिस्तानमा ७ अक्टोबर २०२३ मा विनाशकारी भूकम्प गएको थियो। सो भूकम्पमा ४ हजार जनाको मृत्यु भएको सरकारको तथ्यांक थियो। संयुक्त राष्ट्रसंघले भने १ हजार ५०० जनाको मृत्यु पुष्टि गरेको थियो।
गएराति फेरि राजधानी काबुलबाट सडकमार्ग हुँदै १०० माइल भन्दा कम दूरीमा रहेको जलालाबाद केन्द्र भएर भूकम्प गएको हो।
सरकारी प्रवक्ता जबीहुल्लाह मुजाहिदले सोमबार बिहान सामाजिक सञ्जालमा लेख्दै भूकम्पले ‘पूर्वी प्रान्तहरूमा जनधनको क्षति पुर्याएको’ बताएका छन्। तर उनले मानवीय क्षतिको विवरण सार्वजनिक गरेका छैनन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।