काठमाडौं– ‘नो एज्युर फर अपर्थाइड’ नामक विरोध समूहका अनुसार एना ह्याटल र रिक्की फामेलीलाई कम्पनीले भ्वाइस मेल पठाएर जागिरबाट निकालिएको जानकारी दिएको थियो । त्यसपछि, निस्रीन जारदात र जुलियस शानलाई पनि निकालिएको सो समूहले जनाएको छ ।
यी कर्मचारीहरूले गाजामा इजरायलले गरिरहेको युद्धको विरोध गरेका थिए । माइक्रोसफ्टले इजरायललाई दिइरहेको सहयोग बन्द गर्नुपर्ने र प्यालेस्टिनीहरूलाई क्षतिपूर्ति दिनुपर्ने उनीहरूको माग थियो ।
माइक्रोसफ्टले भने यी कर्मचारीहरूलाई कम्पनीको नीति उल्लङ्घन गरेको र प्रदर्शनका कारण सुरक्षामा गम्भीर खतरा उत्पन्न भएको भन्दै निकालेको बताएको छ । कम्पनीका अध्यक्ष स्मिथले हरेक व्यक्तीलाई आफ्नो विचार अभिव्यक्त गर्ने स्वतन्त्रता रहेको तर त्यो कानुनसम्मत हुनुपर्ने बताएका छन् ।
इजरालयली रक्षा बलले गाजा र वेस्ट ब्यांकका प्यालेस्टिनीहरूको सामूहिक निगरानीबाट प्राप्त कल रेकर्डिङ लगायत डेटा भण्डारणका लागि माइक्रोसफ्टको एजुर क्लाउड कम्प्युटिङ प्लाटफर्म प्रयोग गर्ने गरेको विषयमा बेलायती सञ्चार माध्यम, द गार्जियनले समाचार प्रकाशन गरेको थियो । यस आरोपबारे अनुसन्धान गर्न कम्पनीले गत हप्ता एक कानुनी फर्मलाई जिम्मा दिएको बताएको थियो ।
यसअघि गत फेब्रुअरीमा द एसोसिएटेड प्रेस (एपी)ले पनि माइक्रोसफ्टले इजरायली सेनासँग प्राविधिक साझेदारी गरेको रिपोर्ट प्रकाशन गरेको थियो । सन् २०२३ को अक्टोबर ७ मा हमासमाथि गरिएको आक्रमणपश्चात् इजरायली सेनाले प्रयोग गर्ने आर्टिफिसियल इन्टेलिजेन्स प्रोडक्ट करिब २ सय गुणाले बढेको द एपीले जनाएको थियो ।
यस विषयमा माइक्रोसफ्टले अहिले कानुनी फर्मबाट अनुसन्धान गराइरहेको प्रतिकृया दिएको छ । इजरायलसँगको सम्बन्ध रहेका विश्वका विभिन्न कम्पनी र शिक्षण संस्थाहरूले विरोधको सामना गरिरहेका छन् । यसअघि अप्रिलमा माइक्रोसफ्टकै अन्य दुई कर्मचारीलाई पनि इजरायलको विरोध गरेकै कारण निकालिएको थियो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।