एजेन्सी– सिरियाका राष्ट्रपति अहमद अल–साराले देश एकीकरणको प्रक्रिया युद्ध र हिंसाबाट नभई समझदारीमार्फत अघि बढ्नुपर्ने बताएका छन्।
उनले कुनै पनि विभाजनलाई अस्वीकार गर्दै दक्षिणमा इजरायलको प्रत्यक्ष हस्तक्षेप भएको आरोप पनि लगाएका छन्।
राज्य टेलिभिजनले आइतबार प्रसारित गरेको कार्यक्रममा साराले भने, “सिरियालाई एकताबद्ध गर्ने अर्को लडाइँ हाम्रो अगाडि छ, तर यो रगत र सैन्य बलले होइन, समझदारीमार्फत हुनुपर्छ। देश युद्धबाट थकित भइसकेको छ।”
स्वेदा प्रान्तमा हालै भएको प्रदर्शन र हिंसात्मक झडपलाई उल्लेख गर्दै उनले सबै पक्षबाट उल्लङ्घन भएको स्वीकार गरे। “सुरक्षा बलका केही सदस्यले समेत गल्ती गरेका छन्। जे जसको संलग्नता भए पनि जिम्मेवारलाई जवाफदेही बनाउनै पर्छ”, उनले जोड दिए।
उनका अनुसार, ‘केही शक्तिहरू, विशेष गरी इजरायल, दक्षिणमा हस्तक्षेप गर्दै राज्यलाई कमजोर पार्ने प्रयास गरिरहेका छन्। तर सिरियालाई विभाजन गर्ने वा तोड्ने योजना असम्भव छ।’
स्वेदामा भएको विरोधमा केही प्रदर्शनकारीहरूले इजरायली झण्डा फहराउँदै आत्मनिर्णयको माग गरेका थिए। ड्रुज र सुन्नी बेदुइनबीचको झडप सरकारी सेनाको हस्तक्षेपपछि चर्किएको थियो। मानव अधिकार संस्थाहरूले सेनालाई ड्रुज समुदायविरुद्ध पक्षपाती भएको आरोप लगाएका छन्।
यसैबीच, सिरियाली सरकार उत्तरी भागमा रहेका अर्ध–स्वायत्त कुर्दिश प्रशासनसँग पनि वार्तामा छ। तर विकेन्द्रीकरणबारे मतभेदका कारण मार्च १० मा भएको सम्झौताको कार्यान्वयन रोकिएको छ।
“हामी अहिले सम्झौता कार्यान्वयनका संयन्त्रबारे छलफल गरिरहेका छौँ”, राष्ट्रपति साराले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।