एजेन्सी– अमेरिकी विदेश मन्त्रालयले गाजाबाट आउने मानिसहरूका लागि सबै आगन्तुक भिसा निलम्बन गर्ने घोषणा गरेको छ।
यो प्रतिबन्ध हालका दिनहरूमा अस्थायी उपचार र मानवीय आधारमा केही भिसा जारी गर्न आवश्यक प्रक्रियाको गहन समीक्षाको लागि लगाइएको मन्त्रालयले भनेको छ। केही प्यालेस्टिनी अधिकार समूहहरूले अमेरिकाको यो निर्णयको निन्दा गरेका छन्।
यस निर्णयले गाजाबाट घाइते र गम्भीर बिरामी बालबालिकाहरूलाई उपचारको लागि अमेरिका ल्याउने आफ्नो क्षमतामा गम्भीर असर पार्ने एक विज्ञप्ति जारी गर्दै प्यालेस्टिनी बाल राहत कोषले भनेको छ।
अति दक्षिणपन्थी कार्यकर्ता लौरा लुमरले भिसा कार्यक्रमको आलोचना गर्दै एक्समा कयौँ पोस्ट लेखेपछि मन्त्रालयको नीतिमा यस्तो परिवर्तन आएको हो। उनले ट्रम्प प्रशासनलाई यसलाई बन्द गर्न आग्रह गरेकी थिइन्।
प्यालेस्टिनी बाल राहत कोषले २०२४ मा आफ्नो विदेश उपचार कार्यक्रमको एक भागको रूपमा गाजाबाट १६९ बालबालिकालाई बाहिर निकालेको बताएको छ। यी बालबालिकाहरूलाई मध्य पूर्व, युरोप, दक्षिण अफ्रिका र अमेरिकामा उपचारको लागि लगिएको थियो।
७ अक्टोबर २०२३ मा हमासले इजरायलमा आक्रमण गरेदेखि लगभग दुई वर्षदेखि चलिरहेको युद्धमा गाजाका अधिकांश अस्पतालहरू ध्वस्त भएका छन्। यहाँका मानिसहरूले गम्भीर खाद्यान्न अभावको सामना गरिरहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।