एजेन्सी– कुवेतमा विषाक्त मदिरा सेवनका कारण सोह्र जना नेपाली श्रमिकहरूको मृत्यु भएको त्यहाँ रहेका नेपाली अधिकारीले बताएका छन्।
गैरकानुनी रूपमा बिक्री हुने यस्तो मदिरा सेवन गरेको भनिएका थप ३५ जना भन्दा धेरै नेपालीहरू कुवेतका विभिन्न अस्पतालमा उपचाररत रहेको उनीहरूको भनाइ छ।
कुवेतको स्वास्थ्य मन्त्रालयका अनुसार मेथनोल मिसावट गरिएको मादक पदार्थ सेवनका कारण १६० जना प्रभावित भएका छन्। मृतकको सङ्ख्या २३ पुगेको र अधिकांश एशियाली मूलका मानिसहरू रहेको मन्त्रालयले शुक्रवार एक विज्ञप्तिमार्फत् जनाएको छ।
"अधिकांश पीडितहरूलाई सघन चिकित्सा एकाइ (आईसीयू)मा भर्ना गरिएको छ। त्यहाँ भेन्टिलेटर र आपत्कालीन डायलिसिसको आवश्यक परेको छ," कुवेतको स्वास्थ्य मन्त्रालयले भनेको छ।
नेपालको परराष्ट्र मन्त्रालयले कुवेतमा नेपालीहरूको मृत्यु र बिरामी भएको घटनामा आवश्यक समन्वय गर्न त्यहाँस्थित नेपाली दूतावासलाई निर्देशन दिइएको बताएको छ।
"तीन दिनको अवधिमा सोह्र जना नेपालीहरूको मृत्यु भएको प्रारम्भिक जानकारी आएको छ। कारण यकिन गर्न मेडिकल रिपोर्ट पर्खनुपर्ने हुन्छ। पुष्टि गर्न हामी त्यसको पर्खाइमा छौँ," जाब्रियास्थित नेपाली दूतावासका श्रम सहचारी गिरिप्रसाद आचार्यले बीबीसीलाई जानकारी दिए।
"यही अवधिमा विषाक्त मदिरा सेवनका कारण नेपालीहरूको विभिन्न अस्पतालमा उपचार पनि भइरहेका कारण यही कारण मृत्यु भएको भन्ने आशङ्का छ।"
कुवेतमा मदिरा उत्पादन र बेचबिखन पूर्ण रूपमा प्रतिबन्धित छ।
"अवैधानिक रूपमा भइरहेको कारोबारमा अनविज्ञ भएर उहाँहरू परेको हुन सक्छ," दूतावासका श्रम सहचारी आचार्य भन्छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।