लन्डन– नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङले विदेशमा सिकेको सीप नेपालको विकासमा लगाउन प्रवासमा कार्यरत नेपाली इन्जिनियरहरु लाई आग्रह गरेका छन्।
सोसाइटी अफ नेप्लिज इन्जिनियर्स यूके (सोने यूके) ले बिहीबार साउथ ह्यारोमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै घिसिङले नेपाली इन्जिनियर हरुले देश तथा विदेशमा आफ्नो प्रतिभा देखाइ रहेको बताएका हुन्।
विदेशमा रहेका नेपाली इन्जिनियरहरुले धेरै राम्रो काम गरेका उनले बताए। ‘तर, उनीहरुलाई नेपालमा बस्ने वातावरण भइरहेको छैन’, उनले भने, ‘यसका लागि पनि तपाईंहरुकै योगदान आवश्यक छ।’
नेपालमा बत्तीको मात्र उज्यालो होइन, सुशासन, समृद्धि र आशाको उज्यालो छर्न पनि आफूले सामाजिक अभियान उज्यालो नेपाल अभियान शुरु गरेको उनले बताए। आफ्नो अभियानमा जोडिन आग्रह गर्दै घिसिङले यो अभियान राम्रो लिडरसीप जन्माउन भएको पनि प्रष्ट्याए।
वंशजको नेपाली नागरिकता निरन्तरता मुद्दा समाधान गरेमात्र पनि नेपालमा विदेशका नेपालीबाटै यथेष्ट लगानी भित्रिने उनको भनाइ थियो।
आफ्नो कार्यकाल शुरु हुंदा ९ वर्ष अगाडि १६ घण्टासम्मको लोडसेडिङ रहेको देशमा त्यसलाई अन्त्य गरि ९० अर्ब रुपैयांसम्म नाफामा लान सम्भव भएको उनले बताए।
उनले हाल ४ हजार मेगावाट उत्पादन र झण्डै ७ हजार मेगावाट बिजुली निर्माणाधिन अवस्थामा रहेको जनाउंदै निजी क्षेत्र खुल्ला गरिएपछि गत ८ वर्ष यता झण्डै ५ गुणा बढी बिजुली उत्पादन भएको बताए।
घिसिङले क्रस बोर्डर ट्रेडबारे उल्लेख गर्दै अहिले नेपालले भारत र बंगलादेशमा करिब एक हजार मेगावाट विद्युत निर्यात गरिरहेको समेत जनाए।
गत वर्ष १७ अर्ब रुपियाँ बराबरको बिजुली निर्यात हुंदा आयात १२ अर्ब रुपैयां मात्र भएको उनले बताए ।
उनले नेपाल अहिले विद्युतीय सवारी साधन चल्ने देशमा विश्वकै अग्रपंक्तिमा रहेको बताए। १५ गुणासम्म सस्तो हुने भएकाले अहिले विद्युतीय सवारी साधन गाउं गाउं पुगेको उनले सुनाए।
विद्युतका कारण राम्रो वातावरणीय प्रभाव परेको उल्लेख गर्दै उनले ग्रीन हाइड्रोजन नेपालको अर्को उर्जाको श्रोत हुने औंल्याए। र, यो क्लिन इनर्जी युरोप निर्यात गर्न समेत सकिने उनको धारणा थियो।
सोने यूके अध्यक्ष वरिष्ठ इन्जिनियर सुवोध तिमिल्सिनाले प्रमुख अतिथी घिसिङ एवं सहभागी सबैप्रति आभार व्यक्त गरे। अध्यक्ष तिमिल्सिनाले घिसिङसंग गहन छलफल भएकामा उनीप्रति धन्यवाद व्यक्त गर्दै विकासको आधारशीला नै उर्जा क्षेत्र भएको बताए।
इन्जिनियर विजय गुरुङले आफ्ना महत्वपूर्ण अनुभव सेयर गरेकोमा घिसिङप्रति आभार व्यक्त गरे। सो अवसरमा महासचिव मनोज पुनले स्वागत मन्तव्य दिए भने कार्यक्रम सञ्चालन सचिव संगीता पोख्रेलले गरेकी थिइन्।
अमेरिकाको दुइ साता लामो यात्रा पछि घिसिङ गत सोमबार बेलायत आइ पुगेका हुन्। उनले केही युरोपेली देशहरुको पनि भ्रमण गर्ने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।