काठमाडौँ– भारतले अमेरिकाबाट नयाँ हतियार र विमान खरिद गर्ने योजना हाललाई स्थगित गर्ने निर्णय गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतीय वस्तुको निर्यातमाथि लगाएको ५० प्रतिशत भन्सार महसुल (ट्यारिफ) को प्रतिक्रियास्वरूप भारतले उक्त कदम चालेको बताइएको छ ।
रोयटर्स समाचार संस्थाले तीन जना भारतीय अधिकारीलाई उद्धृत गर्दै जनाएअनुसार भारतले केही साताभित्रै रक्षामन्त्री राजनाथ सिंहलाई हतियार खरिदको घोषणा गर्न वासिङ्टन पठाउने योजना बनाएको थियो । तर, अहिले उक्त भ्रमण रद्द गरिएको छ ।
रोयटर्सका अनुसार भारतले जनरल डाइनामिक्स ल्यान्ड सिस्टम्सले बनाउने ‘स्ट्राइकर’ लडाकु गाडी र रेथिअन तथा लकहिड मार्टिनले विकास गरेको ‘ज्याभलिन’ एन्टिट्यांक क्षेप्यास्त्र खरिद गर्ने विषयमा भएको छलफल हाललाई रोकिएको छ । यद्यपि, भारतले शुक्रबार विज्ञप्ति जारी गर्दै हतियार वार्ता रोकिएको खबर ‘झूटो र कपोलकल्पित’ भएको जनाएको छ ।
यस साताको सुरुमा ट्रम्पले भारतीय सामग्रीमाथि २५ प्रतिशत थप कर लगाएपछि दुई देशबीचको सम्बन्धमा तिक्तता आएको छ । ट्रम्पले रुस–युक्रेन युद्धमा मस्कोलाई आर्थिक सहयोग गरेको भन्दै भारतलाई दण्ड दिन यसो गरिएको बताएका छन् । यससँगै भारतीय वस्तुको निर्यातमा कुल भन्सार शुल्क ५० प्रतिशत पुगेको छ । ट्रम्प र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले यसअघि फेब्रुअरीमा यी सामग्रीको खरिद र संयुक्त उत्पादनको योजना अगाडि बढाउने तयारी गरेका थिए ।
ट्यारिफ र दुई देशबीचको सम्बन्ध कुन दिशामा मोडिन्छ भन्ने विषयमा थप स्पष्टता आएपछि भारतले रक्षा सामग्री खरिदको प्रक्रिया अगाडि बढाउन सक्ने तर अहिले आशा गरिएजस्तो चाँडै नहुने भारतीय एक अधिकारीलाई उद्धृत गर्दै रोयटर्सले लेखेको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।