काठमाडौं– इजरायलले अब औपचारिक रूपमै गाजा सहरमाथि कब्जा गर्ने घोषणा गरेको छ । यसअघि गाजापट्टी मानवरहित बनाउने चेतावनी दिँदै आएको इजरायलले शुक्रबार भने सम्पूर्ण गाजामाथि कब्जा गर्ने घोषणा गरेको हो ।
इजरायलको सेक्युरिटी क्याबिनेटले गाजामाथिको कब्जा-योजनालाई शुक्रबार बिहान स्वीकृति दिएको हो । त्यससँगै इजरायली प्रधानमन्त्री बेन्यामिन नेतान्याहुको कार्यालयले युद्ध अन्त्यका लागि भन्दै ५ बुँदे सिद्धान्त सार्वजनिक गरेको छ ।
'युद्ध क्षेत्रबाहिर रहेका सर्वसाधारणलाई मानवीय सहायता उपलब्ध गराउनेक्रममा इजरायली सुरक्षा बल (आईडीएफ) ले गाजा सहर कब्जामा लिनका लागि आवश्यक तयारी गर्नेछ।'
इजरायलले भनेको ५ बुँदे सिद्धान्त के हो ?
हमास समूहको निशस्त्रीकरण
मृत र जीवित सबै बन्धक फिर्ता गर्नुपर्ने
गाजा पट्टीलाई असैनिकीकरण गरिनुपर्ने
गाजा पट्टीमाथि इजरायली सुरक्षा बलले कब्जा गर्ने
हमास वा प्यालेस्टिनी प्राधिकरण नभएको वैकल्पिक नागरिक सरकारको अस्तित्व
के भन्छन् नेतान्याहु ?
इजरायली प्रधानमन्त्री बेन्यामिन नेतान्याहुले गाजामाथि पूर्ण कब्जा गरिने बताएका छन् । फक्स न्युजसँगको अन्तर्वार्तामा उनले भनेका छन्, 'हामी गाजामाथि पूर्ण रूपमा कब्जा चाहन्छौँ । हाम्रो सुरक्षा सुनिश्चित गर्नका लागि हामीले गाजाबाट हमासलाई हटाउन चाहन्छौँ । गाजालाई हमासको आतंकबाट मुक्त गर्न चाहन्छौँ ।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।