एजेन्सी– पाकिस्तानले इरानको परमाणु कार्यक्रमलाई समर्थन गर्ने घोषणा गरेको छ।
पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले इरानलाई परमाणु ऊर्जालाई ‘शान्तिपूर्ण तरिकाले प्रयोग’ गर्ने अधिकार रहेको बताएका छन्।
पाकिस्तानी प्रधानमन्त्रीले हालै इरानमा भएको इजरायली आक्रमणको निन्दा गरेको र देशको रक्षा गरेकोमा इरानको प्रशंसा गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यम बीबीसीले जनाएको छ।
इरानका राष्ट्रपति मसूद पेजेश्कियान पाकिस्तान भ्रमणमा छन्। यस क्रममा उनले पाकिस्तानसँग कैयौं सम्झौतामा हस्ताक्षरसमेत गरेका छन्।
शहबाज शरीफले भनेका छन्, ‘आतंकवादविरुद्ध पाकिस्तान र इरानको सोच एकजस्तै छ। एसिया क्षेत्रमा शान्ति र विकासको बाटो खुला राख्नुपर्छ।’
यता इरानी राष्ट्रपति मसूद पेजेश्कियानले भने, ‘इजरायल यस क्षेत्रमा अस्थित बनाउने एजेन्डामा काम गरिरहेको छ। मुस्लिम देशहरुलाई शान्तिका लागि एकजुट हुन जरुरी छ।’
उनले इजरायली आक्रमणविरुद्ध पाकिस्तानी समर्थनमा आभार व्यक्त गर्दै पाकिस्तानसँग राम्रो सम्बन्ध इरानको विदेश नीतिको एक महत्त्वपूर्ण हिस्सा रहेको बताए।
पाकिस्तानको सरकारी एजेन्सी एसोसिएटेड प्रेस अफ पाकिस्तानका अनुसार पाकिस्तान र इरानले १२ वटा सम्झौतामा र एमओयूमा हस्ताक्षर गरेका छन्। जसमा व्यापार, कृषि, विज्ञान, टेक्नोलोजी, इनोभेसन, सूचना एवं सञ्चार र समुद्री सुरक्षासमेत अन्य सहयोगहरुसमेत छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।