काठमाडौँ– अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी सुरक्षा परिषद्का उपाध्यक्ष तथा पूर्वराष्ट्रपति दिमित्री मेदवेदेवका 'उत्तेजक' भनाइप्रति प्रतिक्रिया दिँदै दुई परमाणु पनडुब्बीहरूलाई ‘उपयुक्त स्थानहरूमा’ तैनाथ गर्न आदेश दिएको बताएका छन्।
रूसी पूर्वराष्ट्रपति तथा हाल रूसी सुरक्षा परिषद प्रमुख रहेका दिमित्री मेदवेदेवको धम्कीपछि आफूले उपयुक्त स्थानमा आणविक पनडुब्बी तैनाथ गर्न निर्देशन दिएको ट्रम्पले आफ्नो ट्रुथ सोसल अकाउन्टमार्फत जानकारी दिएका हुन्।
शुक्रबार ट्रुथ सोशलमार्फत सार्वजनिक बयानमा ट्रम्पले भने, 'पूर्व रुसी राष्ट्रपति मेदवेदेवको अत्यन्तै उत्तेजक बयानलाई मध्यनजर गर्दै मैले दुई आणविक पनडुब्बीहरूलाई उपयुक्त स्थानहरूमा तैनाथ गर्न आदेश दिएको छु।'
उनले यो कदम सावधानीका रूपमा चालेको जनाउँदै भने, 'यी गैरजिम्मेवार र उत्तेजक शब्दहरू केवल भाषणमा सीमित नहुन सक्छन्। शब्दहरूले कहिलेकाहीं गम्भीर परिणाम ल्याउँछ। आशा छ यसपटक त्यस्तो हुनेछैन।'
ट्रम्पले पनडुब्बीहरू कहाँ तैनाथ गरिएको हो भन्ने खुलाएका छैनन्। अमेरिकी सैन्य प्रोटोकलअनुसार यस्तो जानकारी गोप्य राखिन्छ।
सामान्य रूपमा कम बोले पनि हाल मेदवेदेव अमेरिकी नीति र नेताहरूको तीव्र आलोचना गर्दै आएका छन्। ट्रम्पले युक्रेन युद्ध अन्त्य गर्न रुसलाई चेतावनी दिँदै अल्टिमेटम दिएको केही दिनपछि मेदवेदेवले उनलाई 'धम्की दिने' र 'युद्ध निम्त्याउने' व्यक्ति भनेका थिए।
ट्रम्पले रूसलाई १० दिनभित्र युक्रेनसँग युद्धविरामका लागि सहमत हुन अल्टिमेटम दिएका थिए। त्यसो नभए रूसमाथी भन्सार बढाउने र त्यहाँबाट तेल किन्नेहरूलाई पनि दण्डस्वरूप भन्सार बढाउने चेतावनी दिएका थिए।
एक्समा मेदवेदेवले लेखेका थिए, 'हरेक नयाँ अल्टिमेटम युद्धतर्फको कदम हो।'
'रूस र रुसबाट तेल खरिद गर्नेहरूलाई दण्डस्वरूप भन्सार लगाउने ट्रम्पको धम्की केवल अल्टिमेटमको खेलमात्रै हो। यस्तो धम्कीले रूस र संयुक्त राज्य अमेरिकालाई युद्धतर्फ एक कदम नजिक लैजान्छ,' ट्रम्पलाई जबाफ दिँदै मेदवेदेवले भनेका थिए भनेर अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले लेखेको छ।
त्यसयता ट्रम्प र मेदवेदेवबीच सामाजिक सञ्जाल प्लेटफर्ममा 'वाकयुद्ध' हुँदै आएको रोयटर्सले जनाएको छ।
जबाफमा ट्रम्पले मेदवेदेवलाई रूसका असफल राष्ट्रपति भनेका छन्।
'असफल पूर्वराष्ट्रपति मेदवेदेव अहिले पनि आफूलाई राष्ट्रपति नै ठान्छन्। उसलाई भनिदिनुस्— शब्दमा ध्यान देऊ। ऊ अहिले निकै खतरनाक क्षेत्रमा पाइला टेक्दैछ,' ट्रम्पले जबाफमा लेखेका थिए।
त्यसपछि मेदवेदेवले रूससँग सोभियतकालीन हतियार रहेको बताएका थिए।
'ट्रम्पले 'डेड ह्यान्ड' कति खतरनाक हुन सक्छ भन्ने कुरा बुझ्नुपर्छ। ‘डेड ह्यान्ड’ रुसको गोप्य अर्ध-स्वचालित प्रणाली हो, जुन कुनै शत्रुले रुसी नेतृत्वलाई एकैचोटि नष्ट गरिदिए पनि परमाणु मिसाइलहरू आफैले प्रहार गर्न सक्ने हिसाबले डिजाइन गरिएको छ,' मेदवेदेवले भनेका थिए।
रुसले ट्रम्पको भनाइमा कुनै औपचारिक प्रतिक्रिया दिएको छैन। तर ट्रम्पको घोषणापछि रुसी शेयर बजारमा तीव्र गिरावट आएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।