एजेन्सी– इजरायली सेनाले विमानबाट गाजा पट्टीमा मानवीय सहायता सुरु गरेको छ।
धेरै हप्ता देखिको अन्तर्राष्ट्रिय दबाब र प्यालेस्टिनी क्षेत्रमा बढ्दो भोकमरीको समस्या पछि सेनाले यो कदम चालेको हो।
हवाईजहाजबाट खसाइएको सहायतामा पीठो, चिनी र डिब्बाबन्द खाद्य वस्तुहरू भएका प्याकेज आदि भएको आइतबार बिहानको एक विज्ञप्तिमा इजरायल रक्षा बल (आईडीएफ) ले भनेको छ।
यसअघि इजरायलले संयुक्त राष्ट्रसङ्घ (युएन)का गाडीहरूको लस्करलाई गाजामा प्रवेश गर्न अनुमति दिन मानवीय कोरिडोर खोल्न तयार रहेको बताएको थियो। महिनौँदेखि सीमित आपूर्तिका कारण गाजाका २० लाख मानिसहरू सामूहिक भोकमरीको चपेटामा परेका छन्।
भोकमरीका कारण केही दिनयता दिनहुँ मानिसको मृत्यु भइरहेको खबर आएको थियो। यसैबिच इजरायलले जानाजानी भोकमरी फैलाउन खोजेको आरोप अस्वीकार गरेको थियो। आफ्नो एउटा पोस्टमा आईडीएफले गाजामा मानवीय सहायता सुधार गर्न नयाँ कदम चाल्ने बारेमा जानकारी दिएको थियो।
‘खाद्य वितरणको जिम्मेवारी संयुक्त राष्ट्रसङ्घ र अन्तर्राष्ट्रिय सहायता संस्थाहरूको हो। त्यसकारण संयुक्त राष्ट्रसङ्घ र अन्तर्राष्ट्रिय संस्थाहरूले सहायता वितरणमा सुधार गर्ने र सहायता हमाससम्म नपुगोस् भन्ने कुरा सुनिश्चित गर्ने अपेक्षा गरिएको छ’ पोस्टमा भनिएको छ।
यसलाई किन अपर्याप्त भनियो ?
सहायता एजेन्सीहरूले इजरायलले गाजामा राहत सामग्री हवाईजहाज मार्फत खसाल्नुलाई ध्यान भड्काउन यसो गरेको आरोप लगाएका छन्। यसले गाजामा बढ्दो भोकमरी सङ्कटलाई समाधान गर्न नसक्ने एजेन्सीहरूले बताएका छन्।
राहत सामग्री हवाईजहाज मार्फत खसाल्दा कहिल्यै पनि आवश्यक मात्रा वा गुणस्तरीय सहायता प्रदान गर्न नसकिने अन्तर्राष्ट्रिय उद्धार समितिका किरोन डोनेलीले भने। संयुक्त अरब इमिरेट्स (युएई) र जोर्डनले आगामी दिनहरूमा आफूले गाजा पठाउन खोजेको सहायता हवाईमार्फत खसाल्ने अपेक्षा गरिएको बताएका छन्।
हजारभन्दा बढी अन्तर्राष्ट्रिय सहायता संस्थाहरू र मानव अधिकार समूहहरूले गाजामा ठुलो मात्रामा अनिकालको चेतावनी दिएका छन्। हमासद्वारा सञ्चालित गाजा स्वास्थ्य मन्त्रालयले शनिबार कुपोषणका कारण थप पाँच जनाको मृत्यु भएको बताएको छ।
युद्ध सुरु भएयता खान नपाएर गाजामा मृत्यु हुनेको सङ्ख्या १२७ पुगेको त्यहाँको स्वास्थ्य मन्त्रालयले बताएको छ। यसमा ८५ बालबालिका पनि छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।