काठमाडौ– दक्षिण पूर्वी एसियाली देशहरू थाइल्यान्ड र कम्बोडियाबीच सीमा क्षेत्रमा सैन्य झडप हुँदा कम्तीमा १२ जनाको मृत्यु भएको छ । थाई समाचार पोर्टल थाई एन्क्वायररले कम्बोडियाले आवासीय क्षेत्रमा रकेट प्रहार गरेको जनाएको छ ।
बिहीबार बिहानैदेखि सीमा क्षेत्रमा दुई मुलुकका सेनाबीच झडप सुरु भएको हो । कम्बोडियाले भने अहिलेसम्म के कति क्षति भयो जानकारी दिएको छैन । झडपसँगै थाइल्यान्डले कम्बोडियासँगको सीमा बन्द गरेको छ ।
त्यस्तै कम्बोडियाले पनि थाई सेनाले अत्यधिक बल प्रयोग गरेको आरोप लगाएको छ । दुवै मुलुकले सीमा क्षेत्रका नागरिकलाई सुरक्षित स्थलमा सर्न आग्रह गरिसकेको छ । थाइल्यान्डले करिब ४० हजार नागरिकलाई सुरक्षित स्थानमा सार्दै छ । सीमा क्षेत्रमा पर्ने सुरिन, सिसाकेत र बुरिराम प्रान्तका झन्डै ६ सय विद्यालय बन्द गरिएको थाई एनक्वायररले जनाएको छ ।
थाई अधिकारीहरूका अनुसार ८ वर्षीय बालकसहित ११ सर्वसाधारण र एक सैनिकको मृत्यु भएको छ । थाइल्यान्डको राष्ट्रिय सुरक्षा परिषद्(एनएससी) ले बिहीबार कम्बोडियाको सेनाले ड्रोन हमला पनि गरेको दाबी गरेको छ । कम्बोडियाले बीएम-२१ रकेटसमेत प्रहार गरेको थाइल्यान्डको आरोप छ । कम्बोडियाले भने थाई सेनाले नै संघर्ष सुरु गरेको आरोप लगाएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।