काठमाडौँ– यमनले भारतीय नर्स निमिषा प्रियाको मृत्युदण्ड स्थगित गरेको छ।
निमिषा प्रियालाई जुलाई १६ मा व्यापार साझेदार तलाल अब्दो महदीको हत्या गरेको मुद्दामा फाँसी दिइँदै थियो।
एक्टिभिष्ट समूह र प्रभावशाली धार्मिक नेताले यो मामिलामा दखल दिएपछि मृत्युको सजाय स्थगित भएको भन्दै खबर आइरहेका छन्। केरलाका प्रभावशाली सुन्नी मुस्लिम नेता कन्थापुरम ए पी अबुबकर मुसलियार र भारत सरकारको हस्तक्षेपपछि यमनका स्थानीय अधिकारीहरूले निमिषाको सजाय स्थगित गरेको समाचारमा भनिएको छ।
पछिल्ला दिनहरूमा भारत सरकारले निमिषा प्रियाको परिवारलाई अर्काे पक्षसँग पारस्परिक रूपमा सहमतिसहित समाधान खोज्न थप समय दिन निरन्तर प्रयास गरिरहेको थियो। भारतीय अधिकारीहरू यमनका जेल अधिकारीहरू र अभियोजकको कार्यालयसँग नियमित सम्पर्कमा थिए।
भारतीय नर्स निमिषा २०१७ देखि जेलमा थिइन्। उनीमाथि यमनी नागरिक तलाल अब्दो महदीलाई लागूऔषधको ओभरडोज दिएर हत्या गरेको आरोप छ।
निमिषा र महदी यमनको एक निजी क्लिनिकमा साझेदार थिए। निमिषाको राहदानी आफ्नो कब्जामा राखेको महदीले उनलाई यातना दिने गरेको भनिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।