काठमाडौँ – अहिले देशभर पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ । साथै बङ्गालको खाडी र अरब सागर बाट भित्रिरहेको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
यसको प्रभावले देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली र बाँकी भूभागमा मुख्यतया सफा छ । पछिल्लो ६ घन्टामा कोशी, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा छिटपुट वर्षा भएको छ ।
शुक्रबार दिउँसो गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा मौसम मूख्यतया सफादेखि आंशिक बदली रहने पूर्वानुमान छ ।
त्यस्तै देशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन रचट्याङ्सहित हल्कादेखि मध्यम वर्षा र हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
शुक्रबार राति देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा मौसम मूख्यतया सफादेखि आंशिक बदली रहने पूर्वानुमान छ ।
त्यस्तै कोशी प्रदेश र सुदुरपश्चिम प्रदेश लगायत देशको पहाडी भू–भागका थोरै स्थानहरूमा तथा बाँकी भू–भागका एक–दुई स्थानमा राति पनि मेघगर्जन र चट्याङ्सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । राति नै देशका हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।