काठमाडौं– भारतीय विदेशमन्त्री सुष्मा स्वराजले सार्क मन्त्रिस्तरीय बैठक बीचमै छोडेकी छन्।
_x000D_
_x000D_
नेपालका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको विशेष पहल र अध्ययक्षतामा बसेको सार्क विदेश मन्त्रीस्तरीय बैठकलाई सम्बोधन गरेर स्वराज बैठकबाट बाहिरिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्।
_x000D_
_x000D_
न्यूयोर्कमा आयोजना भइरहेको संयुक्त राष्ट्रसंघ महासभाको ७३औं अधिवेसनको साइडलाइनमा सार्क विदेश मन्त्रिस्तरीय बैठक आयोजना गरिएको थियो। बैठकमा पाकिस्तानका विदेशमन्त्री शाह मेमुद कुरेसी पनि सहभागी थिए।
_x000D_
_x000D_
स्वराजले आफनो मन्तव्य राखेर बैठक स्थलबाट बाहिरिएपछि बंगलादेश र अफगानिस्तानका विदेशमन्त्री पनि बैठक स्थलबाट बाहिरिएको भारतीय सञ्चार माध्यमले जनाएका छन्। भारतीय विदेश मन्त्रालयका अधिकारीका अनुसार ‘स्वराज भारतलाई प्रतिनिधित्व गर्दै राष्ट्रसंघमा आएकाले उनको अरु पनि महत्वपूर्ण बैठकमा सहभागी हुनुपर्ने’ भएकोले बैठकबाट बाहिरिएको प्रतिक्रिया दिएका छन्। उनको अनुपस्थितिमा विदेश सचिव विजय गोख्लेले बैठकमा भारतको प्रतिनिधित्व गरेका थिए।
_x000D_
_x000D_
तर, पाकिस्तानी विदेशमन्त्री कुरेसीले कुनै एक देशको अनिच्छाले गर्दा सार्क प्रक्रिया नै अवरुद्ध भएको प्रतिक्रिया दिएका छन्। उनले भने, ‘हामी स्थगित रहेको सार्क प्रक्रियालाई सुचारु गर्न चाहन्छौँ। तर, कुनै एक देशले गर्दा सार्क अवरुद्ध भएको छ।’
_x000D_
_x000D_
सार्कको १९औँ सम्मेलन २०१६ मा पाकिस्तानको इस्लामावादमा आयोजन गर्ने सहमति भए पनि भारतले आतंकवाद र वार्ता सँगसँगै नजाने भन्दै सम्मेलनमा सहभागी नहुने बताएको थियो। भारतको उरी र पठानकोटमा पाकिस्तान समर्थित आतंकवादीले आक्रमण गरेको भन्दै भारतले पाकिस्तानमा आयोजना हुने सम्मेलनमा सहभागीता नजनाएपछि सार्क सम्मेलन स्थगित भएको हो।
_x000D_
_x000D_
गतवर्ष केपी ओली प्रधानमन्त्री नियुक्त भएपछि नेपालको पहिलो विदेशी पाहुना बनेर आएका पाकिस्तानी प्रधानमन्त्री साहिद खकान अब्बासीले प्रधानमन्त्री ओलीसँग सार्क सम्मेलन सुचारु गर्न पहलकदमी उठाउन आग्रह गरेका थिए। यस्तै, बिहीबार राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री ओलीले नेपाल सार्क प्रक्रिया सुचारु गर्न इच्छुक रहेको वक्तव्य दिएका थिए। नेपाल सार्कको अध्यक्ष राष्ट्र रहेको छ।
_x000D_
_x000D_
यसअघि भारतीय विदेशमन्त्री र पाकिस्तानी विदेशमन्त्रीबीच न्यूयोर्कमा हुने भनिएको बैठक भारतले एकतर्फी रुपमा स्थगित गरेको थियो। जम्मुकास्मिर प्रान्तमा तीन भारतीय सैनिक जवानको हत्या गरेको विरोधमा भारतले बैठक स्थगित गरेको भारतीय विदेश मन्त्रालयले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।