काठमाडौं – सहकारी ठगी प्रकरणमा काठमाडौं ल्याइएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई जिल्ला प्रहरी परिसर, काठमाडौंको हिरासतमा राखिने भएको छ।
जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी नवराज अधिकारीका अनुसार, बुद्ध एयरको उडानमार्फत बिहीबार साँझ काठमाडौं ल्याइएका उनलाई भद्रकालीस्थित प्रहरी कार्यालयमा राखिनेछ। भोलि (शुक्रबार) बाट जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंमा बयान हुनेछ।
कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारीमार्फत भएको अनियमितता प्रकरणमा लामिछानेविरुद्ध २ मंसिरमा पक्राउ अनुमति जारी भएको थियो। उनीसँगै पक्राउ अनुमति जारी भएका छविलाल जोशीलाई बयान लिएर प्रहरीले पोखरा फिर्ता पठाइसकेको छ।
प्रहरीले पहिले स्वर्णलक्ष्मी सहकारीमा छापा मारेर केही कागजातहरू बरामद गरेको थियो, जसमा गाडी किन्न भनेर रवि लामिछाने र जिबी राईले दुई पटक गरेर ४६÷४६ लाख रुपैयाँ लिएको भेटिएको थियो। यसपछि उनी छानबिनको दायरामा तानिएका हुन्। पोखराको सूर्यदर्शन सहकारीमा बचतकर्ताको रकम अपचलन भएको प्रकरणमा प्रहरीले लामिछानेलाई २ कात्तिकमा प्रहरीले वनस्थलीस्थित पार्टी कार्यालयबाट पक्राउ गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।