म बाँचेको संसार
महायोद्धा भीष्म थिए
महाज्ञानी विदुर थिए
दानवीर कर्ण थिए
राजगुरु द्रोण थिए
पाँचै पति सँगै थिए
न कसैले रोक्न लगायो
न कसैले हतियार उठायो
आँखा धृतराष्ट्रका थिएनन्
तर अन्धो सबै सभा थियो
द्रौपदीको अस्मिता खोसिदा
त्यो सभा पूरै मौन रह्यो
त्यस दिन ,त्यस घडी,
तत्पश्चात
इतिहासले जति नै सम्झियोस्
न त्यहाँ कोही योद्धा रह्यो
न त्यहाँ कोही ज्ञानी रह्यो
चेलीहरु त्यतिबेला पनि
न आफ्ना घरमा सुरक्षित रहे
न आफ्नै परिवारमा सुरक्षित भए
न कुनै दरबार सुरक्षित भयो
न नै कहलिएको
राजपरिवार सुरक्षित रह्यो
इतिहासदेखि नै चलिआएछ
इतिहास आफैँलाई दोहोर्याइरहेछ
तथापि
कहिले दोष उमेरलाई दिइयो
कहिले उनको संस्कारलाई
कहिले दोष आवरणलाई दिइयो
कहिले उनको आचरणलाई
दोष उनको सौन्दर्यलाई दिइयो
कहिले उनका आँखालाई
तर, उनलाई
त्यसरी हेर्ने आँखालाई
कहिल्यै दोष दिइएन
एउटाको मनमा एसिड उम्लिएको हुन्छ
त्यसको जलन उनको मुहारले भोग्नुपर्छ
बेइज्जती काम एउटाले गर्न खोज्छ
इज्जत जोगाउन उनले पाउ ढोग्नुपर्छ
मानिसमा
मानवता नै शेष छैन
सुरक्षित महसुस गर्न
आज कुनै देश छैन
ऊ आफ्नै आमाको बलात्कारी हुन्छ
ऊ आफ्नै छोरीको अपराधी हुन्छ
कुनै धर्म-मर्म नभए, बराबर भएको छ
मान्छे आज,
जनावर भन्दा बढी, जनावर भएको छ
तर अझै
दोष उनको कर्ममा नै लगाइन्छ
उनले नमानेको शर्ममा नै लगाइन्छ
हुन पनि वास्तवमा,
दोष त उनको भाग्यमा नै रहेको हो
दोष उनी जन्मनुमा नै भएको हो
उनी , उनी हुनुमा नै भएको हो
यस्ता घटना
सपना मानी नसम्झिएकै ठीक हुन्छ
यस्तो संसारमा त
कहिल्यै नजन्मिएकै ठीक हुन्छ
यस्तो संसारमा त
कहिल्यै नजन्मिएकै ठीक हुन्छ
(डा बस्ताकोटी शिक्षण अस्पताल महाराजगञ्जको जनरल सर्जरी विभागका आवासीय चिकित्सक हुन्)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।