काठमाडौं – नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी फरवार्ड सावित्रा भण्डारी ‘साम्बा’ ले बिहीवारदेखि सुरु हुने साफ महिला च्याम्पियनसिप अन्तर्गत पहिलो खेल गुमाउने भएकी छिन्।
साफ महिला च्याम्पियनसिपमा नेपालले पहिलो खेल शुक्रबार भुटानसँग खेल्दा साम्बा उपस्थित नहुने पक्का भएको छ। फ्रान्सेली क्लब एन अभान्ट ग्वेंगाम्पबाट व्यावसायिक फुटबल खेलिरहेकी साम्बालाई क्लबले आफ्नो लिग खेलका लागि राख्ने निर्णय लिएपछि उनी आउन नपाउने भएकी हुन्।
साफ महिला च्याम्पियनसिपको पहिलो खेल फिफाको अन्तर्राष्ट्रिय विन्डोभन्दा बाहिर रहेकाले साम्बाले त्यो खेल गुमाउने भएकी हुन्। एन्फाले उनलाई चाडैं फुकुवा गर्न आग्रह गरेपनि क्लबले आफ्नो खराब लयका कारण र साम्बा टोलीको महत्त्वपूर्ण सदस्य रहेको भन्दै फुकुवा गर्न नमानेको हो।
पछिल्लो पटक वाफ च्याम्पियनसिपको फाइनलमा पनि खेल फिफा विन्डोबाट बाहिर रहेपछि साम्बाले फाइनल गुमाउनु परेको थियो। यसपटक भने साम्बाले पहिलो खेल गुमाएपनि साफका बाँकी खेल खेल्न पाउनेछिन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।