काठमाडौं– राष्ट्रिय महिला फुटबल टिमका प्रशिक्षक राजेन्द्र तामाङले आसन्न साफ फुटबलमा नेपालको लक्ष्य स्वर्ण पदक रहेको बताएका छन्।
यसै हप्ता काठमाडौंमा सुरु हुने महिला साफ फुटबलको तयारीमा रहेका तामाङले प्रतियोगितामा नेपालको लक्ष्य स्वर्ण पदक हुने उल्लेख गरेका हुन्।
‘हामीले पछिल्ला ११ फाइनल हारिसकेका छौं। तर यस साफ फुटबलमा स्वर्ण पदक जित्ने लक्ष्य राखेका छौं र सोही अनुसार तयारी गरेका छौं।’ तामाङले भनेका छन्।
निरन्तरको फाइनल हारले खेलाडी, व्यवस्थापनको मनोबल उच्च नहुने बताउँदै प्रशिक्षक तामाङले आसन्न साफमा जसरी पनि उपाधि जित्ने लक्ष्य राखेको दाबी गरे।
‘हामीले बंगलादेश, भारतलाई जित्न सक्दैनौं भन्ने छैन। भारत र बंगलादेशलाई हराएका पनि छौं।’ उनले भने।
काठमाडौंमै भएको पछिल्लो महिला साफको फाइनलमा नेपाल बंगलादेशसँग पराजित बनेको थियो। सेमिफाइनलमा भारतलाई हराएपनि नेपालले फाइनलमा बंगलादेशलाई पराजित गर्न सकेन।
प्रशिक्षक तामाङले घरेलु मैदानमा हुने दर्शकको सपोर्टले खेलाडीलाई बेग्लै उर्जा दिने बताए।
आसन्न साफमा दर्शकको समर्थन आवश्यक हुने उल्लेख गर्दै तामाङले भने, ‘दर्शकको समर्थनले टिमलाई सकारात्मक तरिकाले सहयोग गरिरहेको हुन्छ। खेल्ने शैलीमा परिवर्तन हुन्छ। खेलाडीमा बेग्लै उर्जा प्राप्त हुन्छ।’
महिला साफ फुटबल आगामी बिहीबारदेखि काठमाडौंमा सुरु हुदैछ। प्रतियोगिता खेल्न सहभागी टिम नेपाल आउने क्रम सुरु भएको छ। आईतबार बिहान पहिलो टोलीको रुपमा पाकिस्तानले काठमाडौंमा पाईला टेकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।